Kath khabar
यसरी सजिलैसँग बनाउनुहोस् गुन्द्रुकको मीठो अचार

काठमाडौं, पुष ११। गुन्द्रुक हाम्रो मौलिक खान्की हो । रायो, तोरी, मुला आदिको सागलाई घाममा ओइलाएर हप्ता दिन बट्टामा भण्डारण गरेर गुन्द्रुक बनाइन्छ । गुन्द्रुकमा फलाम तत्व प्रशस्त पाइन्छ जो हाम्रो शरीरलाई आवश्यक हुन्छ । हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए र सी पाइन्छ । गुन्द्रुकले पाचन क्षमता बढाउँछ । रेसायुक्त हुने भएकाले यसले कब्जियतका रोगीलाई अरु फाइदा गर्छ । 

गुन्द्रुकमा पनि अचार भनेपछि एकदमै प्रख्यात छ। गुन्द्रुकको अचार बनाउन जति सजिलो छ खाँदा पनि उत्तिकै मिठो हुन्छ। प्रायः जसो हामीहरु सबैलाई गुन्द्रुक भनेपछि मन नपराउने कमै होलान् । आउनुस् गुन्द्रुकको मीठो अचार कसरी बनाउने जानौं । सबभन्दा पहिला यसको लागि चाहिने सामाग्रीहरुबाट शुरु गरौं ।

१.   गुन्द्रुक  २००        ग्राम
२.   तोरीको तेल        ५ चम्चा
३.   सुकेको रातो        खुर्सानी  (स्वाद अनुसार)
४.   लसुन                 ३/४ केस्रा
५.   लसुन हरियो        १ मुठा
६.   अदुवा                सानो १ टुक्रा
७.   गोलभेडा             ३/४ वटा
८.   धनियाँ                 १ मुठा
९.   नून                     स्वाद अनुसार
१०.  प्याज                   एउटा
११.  कालो भटमास       आधा पाउ
१२.  मेथी                    आधा चम्चा

बनाउने बिधि :
पहिला गुन्द्रुकलाई सफा पानीले पखाल्ने र आधा घन्टाजति तातो पानीमा भिजाउने । अब गुन्द्रुक नभिजुञ्जेल हामी अरु सामाग्री तयार पार्छौ । गुन्द्रुक नभिज्दासम्म भटमासलाई भुटेर एउटा भाडामा राख्ने । रातो खुर्सानी, लसुन, अदुवा र टमाटर सिलौटामा पिस्ने, त्यसपछि एउटा भाडामा निकालेर राख्ने । त्यसपछि प्याजलाई लाम्चो आकारमा काट्ने । हरियो लसुन र धनिया पनि मसिनो बनाएर काट्ने । भिजाएको गुन्द्रुकलाई हातले मोलेर अघि भुटेको भटमास र काटेर राखेको सबै सामाग्रीलाई एउटै भाडामा राख्ने । अनि त्यसमा तोरीको तेल राखेर सबैतिर लाग्नेगरी राम्रोसँग मोल्ने । अब गुन्द्रुकको अचार खानको लागि तयार भयो । यसरी तयार भएको गुन्द्रुकको अचार हामीले खाना, मकै, ढिँडो र रोटीसँग खान सकिन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update