Kath khabar
‘सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु


काठमाडौं, पुस १२। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरू, विभिन्न खेलकुद विधाका खेलाडीहरू तथा बिल्लादार जवानहरूको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ ।

फुटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरूको सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update