Kath khabar
डिप्लोमा इन बायोमेडिक इक्विपमेन्ट इन्जिनियरिङमा भर्ना खुल्ला

काठमाडौं, पुस १३। डिप्लोमा इन बायोमेडिक इक्विपमेन्ट इन्जिनियरिङ (डिबिईई) मा भर्ना खुलेको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, टेकुमा यही माघ १० गतेसम्म अध्ययनको लागि आवेदन दिन सकिने गरी भर्ना खुलेको हो । केन्द्रद्वारा आर्थिक बर्ष २०७८-०७९ मा सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट सम्बन्धन प्राप्त डिबिईई कार्यक्रममा भर्ना हुन योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्ने गरी भर्ना खुलेको केन्द्रले जानकारी दिएको छ ।

विज्ञान विषयमा आई एससी वा प्लस टु उत्तीर्ण भएको, अक्षरांकन पद्धति लागू भएपछिको हकमा ११ र १२ कक्षाका प्रत्येक विषयमा न्यूनतम सि ग्रेड र जिपिए २ दशमलव शून्य ल्याएको र उमेरः १८ वर्ष पुगेको व्यक्तिहरूले भर्नाको लागि आवेदन दिन सक्नेछन् । केन्द्रका अनुसार अध्ययन अर्थात कार्यक्रमको अवधिमा एक वर्ष छ महिनाको रहेको छ । हाल २४ जनाको लागि भर्ना खुल्ला गरेको जानकारी पनि केन्द्रले दिएको छ । सहभागीहरूको छनौटको लागि भने प्रवेश परीक्षा (टेन प्लस टु), विज्ञान सङ्कायको पाठ्यक्रमको आधारमा फिजिक्स, केमेस्ट्री, म्याथम्याटिक्स, बायोलोजी र अंग्रेजी विषयका २०/२० गरी जम्मा १०० वटा वस्तुगत बहुउत्तर) तोकिएको छ ।

केन्द्रका अनुसार भर्नाको लागि आवेदन दिनेहरूको प्रवेश परिक्षा यही माघ १५ गते शनिवार बिहान आठ बजे हुनेछ । दरखास्त बुझाउने स्थान राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र, बिएमईटी युनिट टेकु तोकिएको छ भने दरखास्त बुझाउने अन्तिम यही माघ १० गते सोमबार तोकिएको छ । यो विषय अध्ययनका लागि छात्रवृति अन्र्तगत जेहेन्दार तर्फ एक जना (प्रवेश परीक्षामा उच्चतम् अङक प्राप्त गर्ने) तथा वर्गीकृत एक जना (निम्न योग्यता पुगी प्रवेश परीक्षामा उच्च अङ्क प्राप्त गर्ने) समेत गरी दुई जनालाई छनौट गरिने जानकारी पनि केन्द्रले दिएको छ । आवेदनका साथ पेश गर्नुपर्ने कागजातहरूमा भने नागरिकता, एसएलसी/एसइइ तथा टेन प्लस टु, आईएससीको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रतिलिपिहरू रहेकाछन् ।

वर्गीकृत छात्रवृत्तिका लागि पेश गर्नुपर्ने थप कागजातमा भने सरकारी वा सामुदायिक विद्यालयबाट एसएलसी/एसइइ तथा टेन प्लस टु, आइएससी अध्ययन गरेको भनी सम्बन्धित स्थानीय तह/जि.शि.का./विद्यालय/वि.वि.बाट प्रमाणित गरेको प्रतिलिपि आवश्यक पर्ने केन्द्रले जानकारी दिएको छ । वर्गीकृत छात्रवृत्तिमा आवेदन नभर्ने परीक्षार्थीले पूर्ण शुल्किय कोटामा प्रतिस्पर्धा गर्न नपाउने जानकारी पनि केन्द्रले दिएको छ । केन्द्रका अनुसार परीक्षाको लागि दरखास्त फारम शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।  


 

 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update