
काठमाडौं, पुस १३। नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से दुई दशमलव ६६ अंकले घटेर २५ सय १८ दशमलव ९९ अङ्कमा सीमित हुँदा सेन्सिटिभ पनि शून्य दशमलव ९९ अंकले घटेर चार सय ७० दशमलव ९८ अंकमा सीमित हुन पुगेको छ । आज दुई सय ३० वटा कम्पनीहरूको ४२ हजार ५८ पटकको कारोबारमा ५८ लाख २८ हजार सात सय ८३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही आधारमा आज कुल शेयर कारोबार रकम तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार छ सय ३२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकाछन् । जसमध्ये वाणिज्य बैंक, लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, सामूहिक लगानी कोष र लगानी सहितका सात वटा समुहहरूको सूचक घटेकाछन् भने विकास बैंक, जलविद्युत, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य सहितका छ वटा समुहहरूको सूचक बढेकाछन् ।
कारोबार भएका कम्पनीहरू मध्ये आज मध्य भोटेकोशी जलविद्युत कम्पनी, मल्टिपर्पोज फिनान्स, गुडविल फाइनान्स आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाइनान्स, सामलिङ पावर लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, मञ्जुश्री फाइनान्स आदि परेकाछन् ।