Kath khabar
राष्ट्र बैंकको नीतिले सेयर कर्जामा ४ प्रतिशतले कमी, अझैपनि सेयरबजारमा बैंकहरूको १ खर्ब लगानी

काठमाडौं, पुष १४ । सेयरबजारमा बैंकहरूले १ खर्ब बराबरको लगानी गरेको देखिएको छ । तर, यस्तो क्षेत्रमा गएको कर्जा घटाउने राष्ट्र बैंकको नीति अनुसार यो क्षेत्रमा हुने कर्जा भने पछिल्लो समय घट्दै गएको देखिएको छ ।

तरलता अभावको स्थिति सिर्जना नहोस् र सेयरबजारमा अनावश्यक मात्रामा लगानी नबढोस् भनेर राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत यस्तो कर्जामा कडाइ गरेको छ। बैंक तथा वित्त  संस्थाले एक ब्यक्तिलाई पुरै वित्तीय प्रणालीबाट १२ करोड  र एकै बैंकबाट ४ करोड भन्दा बढि लगानी गर्न पाउँदैनन् ।

जसको फलस्वरुप पछिल्लो समय यस्तो क्षेत्रमा जाने कर्जामा कमी आएको देखिन्छ । नेपाल राष्ट्र बैंकको आँकडा अनुसार यस्तो कर्जा चार महिनाको अवधिमा ४ दशमलव एक प्रतिशतले कम भएको छ ।

गत असारसम्ममा बैंक तथा वित्त संस्थाले सेयरबजारमा १ खर्ब ६२ अर्ब लगानी गरेका थिए । जुन लगानी गत कात्तिकमा आउँदासम्ममा ४ अर्ब ३३ करोडले कमी आउँदै  १ खर्ब १९ अर्बमा सीमित भएको छ।

विशेषगरि एक करोड भन्दा माथिको कर्जामा यस्तो संकुचन आएको हो । १ करोड भन्दा माथिको यस्तो कर्जा अहिले १० दशमलव सात प्रतिशतले घटेको नेपाल राष्ट्र बैंक बताउँछ । ७ अर्ब ८४ करोडले  सेयर बजारमा जाने १ करोडभन्दा माथिको  लगानी घटेको छ ।

नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम ठूलो खालका लगानीमा बैंकहरूले साइज घटाउन  खोज्दा ठूलै परिमाणमा गएका ऋणहरू घटेका देखिएका हुन् । तर ५० लाख देखि १ करोड रुपैयाँसम्मको ऋण ५ दशमलव सात प्रतिशतले र २५ देखि ५० लाखसम्मको १२ दशमलव तीन र २५ लाख सम्मको १६ प्रतिशतले कर्जा बढेको छ ।

अर्थात ठूला सेयर लगानीकर्ताको ऋण घटाएका बैंकहरूले साना सेयर लगानीकर्तामा प्रवाह गर्ने ऋणमा भने कमी ल्याएका छैनन् । राष्ट्र बैंकको नीतिले सीमित सेयर लगानीकर्ताले बैंकको रकम उपयोग गर्नेमा कमी ल्याउँदै साना लगानीकर्तामा भने लगानी बढाएको देखिन्छ ।

 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update