काठमाडौं, पुस १५। बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको टोली आज स्वदेश फर्किंदैछन् ।
च्याम्पियन महिला टोली र चौथो भएको पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश फर्कनेछन् । डिसेम्बर २३ देखि २८ सम्म बंगलादेशमा भएको सेन्ट्रल जोनमा महिला टोलीले फाइनलमा उज्वेकिस्तानलाई ३-२ ले पराजित गर्दै अपराजित रहेर उपाधि जितेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
पुरुषतर्फ भने नेपाल चौथो स्थानमा रह्यो । तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३ शुन्यको सेटमा पराजित भएको थियो । पुरुष टिमका मुख्य प्रशिक्षक हान अबिङ भने ढाकाबाटै नेदरल्याण्ड्स फर्कनुहुनेछ। उहाँलाई भलिबल संघका पदाधिकारीले ढाकामा पनि बुधबारै बिदाइ गरिसकेको छ ।
यस्तै स्वदेश फर्केपछि नेपाल भलिबल संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा टिमको लागि स्वागत तथा बधाईको कार्यक्रमको पनि आयोजना गर्ने जनाएको छ ।
मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ ।