
काठमाडौं, पुस १५। मुलुकमा पर्याप्त रोजगारी नहुदाँ नेपाली श्रम बजारमा आउने युवाहरु विदेश पलायन हुन वाध्य छन् । हरेक वर्ष नेपाली श्रम बजारमा पाँच लाख जना युवाहरु आउने गरेका छन् ।
आर्थिक वर्ष २०७८/०७९ को पहिलो चार महिनामा विदेश जान भन्दै एक लाख ४९ हजार दुई सय २९ जनाले श्रम स्वीकृति लिएको छन् । श्रम स्वीकृति लिने मध्ये अदक्ष युवाहरुको संख्या धेरै अर्थात् ७८ हजार ४३० जना अदक्ष रहेका छन् । यस्तै ५८ हजार चार सय ६२ जना दक्ष, ११ हजार चार सय ७४ अर्धदक्ष, प्रोफेसनल एक सय १३६ जना र उच्च दक्ष भएका ३६ जना श्रमिक गएका छन् ।
त्यसैगरी, विभागका अनुसार आव २०७७/०७८ मा एक लाख ६६ हजार छ सय ९८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिएको मध्ये ८० हजार तीन सय ८२ जना अदक्ष र ७० हजार ४२६ जना दक्ष श्रमिक थिए । सो अवधिमा ६१ जना उच्च दक्ष, प्रोफेसनलमा दुई सय ४६ जना, अर्धदक्ष १५ हजार पाँच सय ८३ जना रहेका छन् ।
वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य न्यूनतम सीप तालिम गरे पनि युवाहरुले नलिएको अवस्था छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन वर्षअघि न्यूनतम एकमहिने सीप नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने घोषणा गरेको थियो । तर, त्यो कार्यान्वयन नभएको विभागकै तथ्याङ्कले पुष्टि गरेको छ । यति हुदाँ हुदै पनि सरकार भने अदक्ष कामदार पठाएर मौन बसेको छ । अदक्ष कामदार पठाएर वैदेशिक रोजगारीमा समस्याहरु थप गरेको यस क्षेत्रका जानकारहरु बताउनु हुन्छ ।
मन्त्रालयले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार एक महिनाको सीपसम्बन्धी तालिम नलिएका श्रमिक वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने घोषणा गरे पनि कार्यान्वयन हुन नसक्दा बिना तालिम युवाहरु विदेश जान वाध्य छन् ।
अघिल्ला वर्षहरुमा कोभिड १९ को कारण विदेश जाने युवाको संख्यामा कमी आए पनि हाल भने युवाको संख्या बढेको छ । विदेश जाने युवाको संख्या बढे सँगै तालिम बिना विदेश जाने युवाको जमात समेत बढेको विभागका अधिकारीहरुको भनाई छ ।