काठमाडौं, पुस १५। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार बिहानबाट सुरु भएको छ । बन्द सत्र विहान ११ बजेबाट सुरु भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष क.कृष्णबहादुर महाराको निर्देशनमा अध्यक्ष मण्डलकी सदस्य क.पूर्णा कुमारी सुबेदीले बन्द सत्र सञ्चालन गरिरहनुभएको छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष क. प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधानमाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रम अन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले प्रस्तुति राख्नुभएको छ ।
आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट क. कृष्ण अधिकारीले समूहको प्रस्तुति राख्नुभयो । सल्लाहकारहरुको समूह 'क' को तर्फबाट क.चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख क. जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राख्नुभएको छ ।
महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो । बुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए । आज पाँचवटा समूहले प्रस्तुति राखिसकेका छन् । अब ९ वटा समूहको प्रस्तुति बाँकी छ ।