Kath khabar
कहाँ जाँदैछ ओभरड्राफ्ट कर्जा ?

 

काठमाडौं, पुष १६ । पछिल्लो समय ओभरड्राफ्ट कर्जाको माग ह्वात्तै बढेको छ । यति मात्रै होइन यस्तो कर्जा अहिले सेयरबजारबाट ब्यापार तथा व्यवसायमा सोझिएको छ ।

खातामा भएको रकमभन्दा बढि रकम लिनेलाई ओभरड्राफ्ट भनिन्छ । यसमा के प्रयोजनका लागि भनेर खास खुलाईदैन। जसका कारण यो कहिले सेयरबजार त कहिले व्यापारमा केन्द्रित हुन्छ । अहिले सबैजसो रकम ब्यापार तथा व्यवसायमा केन्द्रित भएको छ । नेपाल राष्ट्र  बैंकका अनुसार

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये ओभरड्राफ्ट कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.८ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा ८.४ प्रतिशतले बढेको छ ।  यि सबै व्यवसायमा प्रदान भएको कर्जा हो ।

त्यस्तै हायर पर्चेज कर्जा ४.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.१ प्रतिशतले घटेको छ । यस्तै आवधिक कर्जा ७.८ प्रतिशतले, रियल स्टेट कर्जा ७.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो ।

बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ । कात्तिक महिनासम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ८.६ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ११.६ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले बढेको छ ।

२०७८ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.२ प्रतिशत र १२.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले बढेको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update