Kath khabar
प्रधानमन्त्री कप छनौट प्रतियोगिताः बैतडीको विजयी सुरुवात


बैतडी, पुस १७ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी सुरुआत गरेको छ ।

आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी सुरुआत गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पन्छाएको डोटी ३२.२ ओभरमा १४१ रनमा समेटियो । डोटीका लागि क्रिस ऐरले ३८, हुदय बिठारीले २८, खगेन्द्र जोशीले २३, आयुश खड्काले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बैतडीका लागि वीरेन्द्र नाथले उत्कृष्ट बलिङ गर्दै ५ विकेट हात पारे । जगदीश चन्दले २, कप्तान रामचन्द र लोकेन्द्र चन्दले १/१ विकेट लिए ।  

त्यसअघि कभर्ड हल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ३५ ओभरमा ५ विकेटको क्षतिमा ३४० रनमा बनायो । जसमा दीपक बोहराले शतकीय पारी खेल्दै १११ रन जोडे । गजेन्द्र बोहराले ९० र लोकेन्द्र चन्दले ६४ रन बनाए । डोटीका सविन महराले २, भोजराज भट्ट र रिदम बलायरले १/१ विकेट झारे ।  

बैतडीका दीपक बोहरा म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका आठ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।  नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौंमा हुँदैछ ।

(रासस)

 

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update