काठमाडौं, पुष १८ । अर्थतन्त्रका अधिकांश सूचक बिग्रिएर गएका बेलामा वैदेशिक लगानीमा भने सुधार आएको देखिएको छ । कात्तिक महिनासम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई ६ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह भने ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६,३८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।
कात्तिक महिनासम्ममा खुद सेवा आय ३१ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १७ अर्ब ५१ करोडले घाटामा रहेको थियो । भ्रमण आय २२३.५ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ८९ करोड रहेको थियो
सेवा खाता अन्तर्गत भ्रमण व्यय १३७.२ प्रतिशतले वृद्धि भई १९ अर्ब १५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १० अर्ब ७० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८ अर्ब ७ करोड रहेकोमा शिक्षातर्फको व्यय ६ अर्ब ८५ करोड रहेको थियो ।
कात्तिक महिनामा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।