
काठमाडौं, पुष १८। साताको पहिलो कारोवार दिन नै नेप्सेमा हरियाली छाएको छ । नेप्से आज ६० दशमलव ४१ अंकले बढेर २५ सय ८४ दशमलव ९१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १० दशमलव ७७ अंकले बढेर चार सय ८२ दशमलव एक अंकमा पुग्न सफल भएको छ । दुई सय ४० वटा कम्पनीहरुको ५३ हजार एक सय २२ पटकको कारोबारमा ७१ लाख ६० हजार नौ सय ८३ कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ ५३ पैसा पुग्न सफल भएकाछन् ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । जसमध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेको छ । यसबाहेक वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक भने बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मध्यभोटेकोसी जलविद्युत कम्पनी, हिमालयन डिस्ट्रिलरी प्राली, ग्रिन डेभलपमेन्ट बैक आदिको शेयर मूल्य बढेकाछन् भने गोर्खाज फाइनान्स, न्यादी ग्रुप पावर लिमिटेड, मञ्जुश्री फाइनान्स आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्राली, नबिल बैंक, नेपाल बंगलादेश बैंक आदि परेकाछन् ।