काठमाडौं, पुष १९। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीको प्रशिक्षण हुन लागेको हो।
प्रशिक्षण त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच सहमति बनेपछि प्रशिक्षण सुरु हुन लागेको हो । यस अघि क्यानले आइतबारबाट प्रशिक्षण सुरु गर्ने निर्णय गरेको थियो । खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न अनुरोध गरेपनि कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीसहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन्।
केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।
क्यानले कारबाहीमा परेका चार खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टको ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो । क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ । ग्लोबल छनोट ओमानमा आयोजना हुनेछ ।