काठमाडौं, पुस १९। क्रस होल्डिङ शेयर भएका लघुवित्त संस्थाहरूलाई आगामी असार मसान्तसम्म मर्जर तथा प्राप्तिको कार्ययोजना पेस गर्नुपर्ने नेपाल राष्ट्र बैकले निर्देशन दिएको छ । राष्ट्र बैकले सोमबार लघुवित्त संस्थाहरूको नाउँमा परिपत्र जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशन अनुसार क्रस होल्डिङ हुने गरी लगानी गरेको संस्थापक शेयरका सम्बन्धमाः, अनुमति प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरू बिच एक आपसमा र वा इजाजतपत्र प्राप्त एक भन्दा बढी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी तथा वित्तीय संस्थाहरूको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्ने, गाभिने वा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्ने छ ।