काठमाडौं, पुष २०। पछिल्लो समयका व्यस्त अभिनेता नरेन खड्का ‘म’ नामक फिल्ममा अनुबन्धित हुनुभएको छ। सुवर्ण थापाको निर्देशनमा सोमबारदेखि काठमाडौँमा सुटिङ सुरु भएको फिल्ममा नरेन प्रमुख भूमिकामा रहनुभएको छ ।
कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा दुई वर्ष अघिनै भएको थियो । कोरोना भाइरसका कारण संसारै ठप्प भएकाले केही दृश्य खिचिएको भए तापनि सो फिल्मको सुटिङ पूरा भएन । अहिले पूरै नयाँ कलाकार तथा प्राविधिकका साथमा ‘म’ को सुरु देखिनै सुटिङ थालिएको छ ।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेनका साथमा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुविना थापा, प्रमोद अग्रहरि, निराजन प्रधान लगायतको अभिनय छ । विमला गुरागाँई निर्माता रहनुभएको फिल्मले सामाजिक कथा प्रस्तुत गर्ने जानकारी निर्देशक थापाले दिनुभएको छ ।
‘हमेशा’, ‘परदेशी’ लगायतका सुपर हिट फिल्मका अभिनेता नरेन पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियो तथा बिज्ञापनमा समेत व्यस्त छन् । हालै कर्णाली भेकको कथामा ‘बुलाकी’ फिल्मको सुटिङ सकाएका उहाँले ‘म’ को स्क्रिप्ट तथा टिम मन परेकाले आफु आशावादी रहेको बताउनुभएको छ ।