काठमाडौं, पुष २० । कर्मचारीतन्त्रको असक्षमताकै कारण विकास खर्च नभएको राजनीतिज्ञहरूले लगाउने आरोप नौलो होइन । पूर्व मन्त्रीदेखि निर्माण व्यवसायीले कर्मचारीले रकम खानका लागि बिलको भुक्तानी अड्काउने गरेको पनि सुनेकै हो । तर स्वयंम् कर्मचारी त्यसमा पनि सचिव पदमा रहनुभएका जलस्रोत सचिव सागर कुमार राईले कर्मचारीले भुक्तानी अड्काएर रकम लिने गरेको बताउनुभएको छ।
सोमबार अर्थ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव राईले विकास निर्माणका लागि छुट्टाएको रकम खर्च नहुने कारणहरू खोतल्ने क्रममा कर्मचारीले अनियमित तरिकाले रकम लिने गरेको खुलासा गरेका हुन् । समितिको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘एक कर्मचारीहरूको झुन्ड छ, जसले मोबिलाइजेसन रकम कहाँ पाक्यो भनेर हेर्छ, तयार भएको देखेपछि तिर हानेर त्यसलाई झार्ने प्रयास गर्छ, नझर्दासम्म उसले त्यो भुक्तानी नै रोक्छ । ’
सडक तथा भवन सम्वद्ध निकायमा रहेका कर्मचारीले यस्तो गर्ने गरेका हुन् । किनभने ठूलो मात्रामा भुक्तानी अहिले पनि यिनै क्षेत्रमा रहेको छ । औपचारिक रूपमै सडक विभागले अहिले १ अर्ब भन्दा माथिको रकम रोकिएको बताउनुहुन्छ। साना साना कैयन आयोजनाको यस्तो भुक्तानी रोकिएको निर्माण व्यवसायीहरू बताउनुहुन्छ ।
निर्माण व्यवसायीहरू त अहिले ३५ अर्ब भन्दा ठूलो रकम भुक्तानी रोकिएको बताउनुहुन्छ। संसद्को अर्थ समितिले सोमबार विकास सम्वद्ध मन्त्रालयसँगै विकास निर्माणमा उल्झन गर्ने आरोप लागेको वन मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीलाई बोलाएर पुँजीगत खर्च नहुनुको कारण खोतल्ने प्रयास गरेको थियो ।
साथै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारी जति काठमाडौं केन्द्रित भएर बस्दा राज्यले कर्मचारीमा गरेको खर्च फलदायी हुन नसकेको बताउनुभयो । उहाँले कर्मचारी केन्द्रीकृत हुँदा मुलुकको अपेक्षित विकास हुन नसकेको दाबी गर्नुभएकोछ । सडक, पुल, रेल जस्ता पूर्वाधार निर्माण गर्ने मन्त्रालयको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पनि पाण्डेकै भनाइमा सहमति जनाउनुभएको थियो ।
उहाँले निर्माणका लागि भनेर ठेकेदारले लिएको रकम अन्य व्यवसायमा लगाउने गरेको र समयमै काम सम्पन्न नगर्ने गरेको बताउनुभयो । पुँजीगत खर्च हुन नसक्नुमा खरिद प्रक्रिया, महिनौं फाइल अड्काउने कर्मचारी, आयोजनामा न्यून बजेट विनियोजन र सस्तो लोकप्रियताका लागि बजेट छुट्याउने प्रवृत्ति प्रमुख कारक रहेको उहाँको भनाइ थियो ।