Kath Khabar
ट्राफिक प्रहरीद्वारा चोरिएका मोटरसाइकल धनीलाई हस्तान्तरण


काठमाडौं, पुष २२। महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरूलाई जिम्मा लगाइएको हो ।

महाशाखाले उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चाबहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्कलगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनु भएको हो । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकी मार्फत ती मोटरसाइकल बरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकलहरू राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ । यस आर्थिक वर्ष ०७८-०७९ मा हराएका २२३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाइकल सहित सम्बन्धित प्रहरीबृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महाशाखाले जनाएको छ ।

सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको समेत महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update