काठमाडौं, पुष २२ । बङ्गलादेशमा हुने “बंगबन्ध शेख मुजीव बन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूलाई बिदाई गरिएको छ । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्नुभएको हो ।
मन्त्रालयको सभा हलमा आयोजित बिदाई कार्यक्रममा खेलाडीहरूलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरू ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
पछिल्लो समय खेलाडीहरूको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भन्नुभयो, “हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौ, जसमार्फत खेलाडीहरूलाई पुरस्कारको अग्रिम सुनिश्चितताको ब्यवस्था हुनेछ ।”
जनवरी १० (पौष २६) गते बङ्गलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो । ४२ किलोमिटर दुरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लाग्नुभएको हो ।