Kath khabar
हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा

फुङ्लिङ, पुष २३। चाँदी जस्तै टल्किने हिमालहरू । चारैतिर त्यसको पहिलो दृश्यबाट प्रत्येक दिनको हेराइ शुरुआत हुन्छ । बिहान उठ्नेबित्तिकै दुलही लजाएर घुम्टाले झपक्कै छोपिए जस्तै हिउँले छोपिएका हिमाल देख्दा ताप्लेजुङ्बासी आफूलाई गर्वको महसुस गर्छन् । त्यही हिमालको पीडाले यहाँ मानिसलाई त्यत्तिकै सताएको पनि छ ।

यही पुस १३ र १४ गते हिमाली जिल्लाहरूमा बाक्लो हिमपात भयो । ताप्लेजुङका लेकदेखि बेंसीसम्म हिउँ आइपुग्यो । धेरैको जनजीवन प्रभावित हुन पुग्यो । मिक्खोला गाउँपालिका-५ पापुङका बाबुछोरा चौँरी गोठ सर्ने क्रममा हिमपहिरामा परे । तिनको उद्धारका लागि अल्टिच्युड एयर कम्पनीको हेलिकप्टरमार्फत दुई दिन पहल गर्दा पनि बसेको ठाउँ पत्ता लाग्न सकेन । ओढारमा बसेको छ दिनमा मात्र उनीहरू आफैँ हिँडेर गाउँ आइपुगे । समुद्र सतहदेखि चार हजार २०० मिटरको उचाइमा रहेको याङ्मा बस्ती भने हिमपातसँंगै अहिले सम्पर्कबिच्छेद बनेको छ ।

चीनको सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ याङ्मामा  हिमपात भएसंँगै अहिलेसम्म गाउँका समुदायसँग सम्पर्क हुन नसकेको ताम्लिङ शेर्पाले बताउनुभयो । सदरमुकाम फुङ्लिङदेखि एक दिन सवारी साधन र बाँकी दुई दिन पैदल यात्रामार्फत तीन दिनमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङ्गोलाको याङ्मा पुगिन्छ । जिल्लाकै उच्च तथा दुर्गम बस्ती याङ्मामा हिमपात भएसँगै त्यहाँका समुदायसँग सम्पर्कबिच्छेद भएको हो ।

एघार घरका करिब ४० जनाको स्थायी बसोबास  रहेको यहाँको मुख्य पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । सो बस्ती पशुपालनमा पनि याक गोठमा निर्भर रहन्छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का आर्थिक तथा प्राविधिक सहयोगमा याङ्मा क्षेत्रमा  चार सय, ओलाङ्चुङ्गोला क्षेत्रमा ४३५ र घुन्सा क्षेत्रमा  ३६  याकको बिमासमेत गरिएको परिषद्का कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, तिनका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले  याङ्मा समुदायले याक गोठ छाड्न सकेको छैन ।

चीनका बजारमा प्रतियाक रु ६० हजारदेखि रु  एक लाख ५० हजारसम्ममा बिक्री हुने गरेको स्थानीयवासी बताउँछन् । छुर्पी र घिउ प्रतिकिलो रु एक हजार २०० सयमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताउनुभयो । याङ्मा समुदायको प्रमुख आम्दानीको स्रोत नै याक पालन हो । करिब तीन वर्षदेखि भने चीनतर्फको नाका बन्द छ । यसबाट आर्थिक सङ्कटसमेत खेप्दै आएको समुदायलाई अहिले हिमपातले सताएको छ ।

थोरै परिवार र कम जनसङ्ख्याको बस्ती भएकाले याङ्मामा सञ्चारको पहुँच पुर्याउने तत्काल कुनै योजना नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । ओलाङ्चुङगोलाबासी समेत रहनुभएका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेनले याङ्मासम्म सञ्चार पहुँच विस्तार गर्ने कुनै योजना नरहेको बताउनुभयो । केही वर्षअघिसम्म विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का सहयोगमा सञ्चालित स्याटेलाइटमार्फत एसटिएम प्रविधिको टेलिफोन सेवा बिग्रिएपछि हाल याङ्मा सञ्चार पहुँच बाहिर छ ।  छेतेनका अनुसार याङ्मासम्म कुनै सूचना आदानप्रदान गर्नुपरेमा मानिस नै जानुपर्ने र चिठ्ठीपत्र पठाउनुपर्ने अवस्था  छ । याङ्मा गाउँसम्म केही सूचना पुर्याउनु परेमा मान्छे नै गएर सूचना दिने वा चिठ्ठी पठाउनुपर्ने हुन्छ । कुनै पनि सञ्चारमाध्यमको नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति र चिठ्ठीपत्रबाहेक अरू विकल्प नरहेको छेतेनले बताउनुभयो ।   

गत असोजको दोस्रो साता जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले  जिल्लाका १० स्थानमा सञ्चार पूर्वाधार तथा उपकरण व्यवस्था गर्न नेपाल टेलिकमको ध्यानाकर्षण गराउनुभएको थियो । पूर्वमन्त्री भट्टराईले  टेलिकमका महाप्रबन्धक डिल्ली अधिकारीलाई भेटी सोसम्बन्धी मागपत्र बुझाउँदै टेलिफोनको गुणस्तर सुधार तत्काल गर्न आग्रह गर्नुभएको थियो  ।

ताप्लेजुङ  पर्यटन, कृषि, ऊर्जा, व्यापारलगायत क्षेत्रमा अत्यन्तै राम्रो सम्भावनायुक्त जिल्ला भए पनि आधुनिक सूचना र सञ्चारको सहज पहुँच नहुँदा यहाँका व्यापार, व्यवसाय र पर्यटनको क्षेत्र मात्र नभएर सर्वसाधारणको दैनिक जीवन पर्ने समस्यामा छ । जिल्लामा अप्टिकल फाइबार तत्काल जिल्ला पुर्याउनका साथै टेलिफोन सम्पर्क नहुने स्थानमा तत्काल सुधार गर्न आग्रह गरिएकोे छ ।

मैवाखोला गाउँपालिका वडा नं  २ ढुङ्गेसाँघु, मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बु, फक्ताङलुङ -६ लुवाडाँडा, आठराई गाउँपालिका फूलबारी, फुङलिङ नगरपालिका दोखु, देउलिङ्गे, मिक्खोला – ५ किलिङ, सिरिजङ्घा गाउँपालिका वडा नं ५ खेवाड, सिदिङ्वा गाउँपालिका  वडा नं  १ कालीखोला, फक्ताङ्लुङ -७ याङ्मालगायत क्षेत्रमा टेलिफोन टावर राख्न माग गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा माग  गरिएको मोबाइल टावर राख्ने हो भने सबै क्षेत्रमा सञ्चारको पहुँच पुग्ने जनाइएको छ ।   

(रासस)

 

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update