काठमाडौं, पुस २४। संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०० औं जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्त्वहरू लागेको आरोप समेत लगाएको छ ।
मोर्चाका संयोजक तारानाथ लुँइटेलले २२से/२४से गण राज्यहरूलाई एकीकरण गरेर आजको नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावनी दिनुभयो । भर्खरै नेकपा माओवादी केन्द्रको महाधिवेसनले वैदिक सनातन धर्म विरुद्ध आपत्ति जनक निर्णय गरेको जुन बहुसंख्यक हिन्दु धर्मावलम्बीहरूलाई सह्य नहुने बताउनु हुँदै भन्नुभयो, “खबरदार! प्रचण्ड हामीलाई होम, पुराण, यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभिमानमाथि ठेस पुगेको छ, यसको दुष्परिणामको भागिदार हुन तयार हुनु ।” अध्यक्ष लुँइटेलले माओवादी महाधिवेसनमा कार्यकर्तालाई धर्मसंस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घातक भएको आरोप लगाउनुभयो ।
लुँइटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देश द्रोही भएको बताउनुभयो । मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधीन नेपाल पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उहाँकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तिलाई भव्यताका साथ मनाउनु पर्ने माग राख्नुभयो ।
पत्रकार सम्मेलनमा मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले अहिलेको सरकारलाई बहिरोको संज्ञा दिदै भन्नुभयो, “जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारायणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन बिदा तथा जन्मजयन्ति उत्सबका रुपमा मनाउन माग गर्दा पनि सुन्दैन, बरु गौरवशाली इतिहास मेटाउन खोज्दै छन्, तिनीहरूलाई जनताले छाड्ने छैनन् ।” उहाँले अगाडि भन्नुभयो, “हाम्रो स्वाभिमानी इतिहास मेटाउन खोज्नेहरूको पनि अस्तित्व मेटाउने दिन नआओस् ।”
पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका अध्यक्ष हरिबोल भट्टराई, मोर्चाका राष्ट्रिय संयोजक द्वय शेखरजंग रायमाझी, शोभाराम थापा, विश्व हिन्दु महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी, मोर्चाका सहमहामन्त्रीद्वय श्यामसुन्दर बलामी र केशव ढुङ्गाना लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।