Kath Khabar
ओमिक्रोन कत्तिको जोखिमपूर्ण ? के हुन सक्छन् ओमिक्रोन सङ्क्रमण हुँदाका लक्षणहरू?

काठमाडौं, पुष २५। कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। ओमिक्रोनका एक विज्ञले विश्वलाई सावधान रहन चेतावनी दिएका छन् । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको प्रगतिको गति अघिल्ला सबै भेरियन्टभन्दा बढी छ ।

ओमिक्रोनबाट बच्नको लागि स्वास्थ्य विशेषज्ञहरूले कोभिड भ्याक्सिनको बुस्टर शट सिफारिस गरिरहेका छन्, जुन धेरै प्रभावकारी रहेको बताइएको छ। विज्ञहरुले ओमिक्रोनलाई निकै संक्रामक भएको र जो कोही पनि सजिलै यसको सिकार हुन सक्ने बताउनुभयो। ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिरहेको कारण स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई सचेत गराउन निरन्तर काम गरिरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरियन्टको तुलनामा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ। यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरियन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्। यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरियन्टका प्रमुख लक्षणहरु नाकबाट पानी बग्ने, हाच्छिउँ आउने, टाउको दुख्ने, शरीर गल्ने र घाँटी दुख्ने रहेका छन् ।

केही देशमा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्। सुरुमा दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका थिए। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस थिए।

अतिरिक्त बूस्टर मात्रा लगाउँदा वा पूर्ण मात्रामा खोप लगाउनु र नयाँ वा उस्तै भेरियन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ। यो भेरियन्ट कति सजिलै फैलिन्छ, अन्य भेरियन्टको तुलनामा यसले मानिसहरूलाई कत्तिको बिरामी बनाउँछ वा पहिले सोचिएकोभन्दा खोपको असर कम हुन्छ भन्नेबारे अन्योल कायम नै छ। तर यो चिन्ताजनक नै देखिन्छ । धेरै देशहरुले यात्रामा प्रतिबन्ध वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास गर्न थालेका छन्। यस्तो अवस्थामा मानिसहरु पहिलेभन्दा धेरै सचेत हुनुपर्ने देखिन्छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update