Kath khabar
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

काठमाडौं, पुस २५। नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्रियामा उहाँले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिनुभएको हो ।

नेता महरले भन्नुभयो, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ। यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ।” नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहनुभएका उहाँले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको छ भन्नुभयोे ।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो । कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए  ।
 

 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update