Kath khabar
केशरमहलमा शिक्षामन्त्री पौडेलको निरीक्षण


काठमाडौं, पुस २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरूलाई मन्त्रालयको शाखाबाट प्रवाह हुने सेवाको विषयमा जानकारी लिनुभएको छ । ‘मन्त्रालयको शाखामा के कस्तो काम भइरहेको छन् भनेर निरीक्षण गर्न आएका हुँ’ मन्त्री पौडेलले सेवाग्राहीसँग भन्नुभयो, ‘ तपाईँहरूलाई दिने सेवामा कुनै समस्या कि छैन ।’

मन्त्रीको प्रश्नमा सेवा ग्राहीले लामोसमय लाइनमा बसेर भएपनि काम सकेर जानी गरेको बताएका थिए । शाखा कार्यालयका उपसचिव हरिप्रसाद निरौलाले सेवाग्राहीको कामका लागि राति १२ बजेसम्म पनि काम गरिरहेको बताउनुभयो । ‘सेवाग्राहीको सेवाका लागि राति १२ बजेसम्म पनि काम गर्छौ,’ उपसचिव निरौलाले भन्नुभयो, ‘रातको अन्तिम उडान नभएसम्म सुत्दैनौ ।’ कतिपयले अन्य बाटोबाट ‘नो अब्जेक्सन’ लेटर बनाउँदा विमानस्थलबाट फर्किएको निरौलाको भनाइ छ ।

सोही क्रममा मन्त्री पौडेलले सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  कर्मचारी अभाव भएका कारण सेवाग्राहीलाई तत्कालै सेवा दिन नसकिएको उपसचिव निरौलाको भनाइ छ ।

नो अब्जेक्सन लेटर अनलाइन प्रणालीमा लगेपछि ११ करोडभन्दा बढी राजश्व संकलन गर्न सफल भएको उपसचिव निरौलाले जानकारी दिनुभयो । शाखाले अनलाइनमार्फत निवेदन प्रमाणित गरी सेवा प्रदान पनि गर्दै आइरहेको छ  ।
 


 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update