काठमाडौं, पुस २६। सीसीएमसीसको विद्यालय बन्द गर्ने सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्दैछ।
कोरोना सङ्क्रमण दर बढ्दै गएपछि कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई नै मिलाएर विद्यालय बन्द गर्ने निर्णय हुनेछ ।
केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेज तथा विद्यालयलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ।
ओमिक्रोन लगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूमार्फत नागरिकस्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले थप पहल गर्ने हिजोको बैठकले निर्णय गरेको थियो।