Kath khabar
म्यान्मारमा सैनिक अदालतले सुनायो १९ जनालाई मृत्युदण्ड, ६ सय १४ जनाले ज्यान गुमाए

म्यान्मारमा सैनिक अदालतले सुनायो १९ जनालाई मृत्युदण्ड, ६ सय १४ जनाले ज्यान गुमाए
एजेन्सी
म्यान्मारमा सत्ता कब्जा गरेको  सैनिकको अदालतले १९ जनालाई मृत्युदण्ड सुनाएको छ  । सजाय सुनाईएका अभियुक्तहरुले उत्तरी यांगुनको ओक्कालपामा चक्कु तथा घरेलु हतियारले दुई जना सैनिकलाई मार्च २७ मा आक्रमण गरेको अदालतको ठहर छ ।
यसरी चक्कु तथा घरेलुु हतियारको आक्रमणमा परेका मध्ये  एक जनाको मृत्यु भएको  छ भने अर्का एक सैनिक घाइते भएको बुझिएको छ ।
गत महिना लागू गरिएको सैनिक कानुनअन्तर्गत दिइएको यो पहिलो सजाय हो । मार्च २७ का दिन म्यान्मारका विभिन्न स्थानमा गरिएको विरोधका क्रममा सुरक्षाकर्मीले चरम दमन गरेको थियो । त्यसक्रममा कम्तीमा २७ जना लोकतन्त्रवादी प्रदर्शनकारीको ज्यान गएको थियो ।
गत फेब्रुअरी १ मा म्यान्मारमा सेनाले सत्ता कब्जा गरेको  थियो, त्यसयता देखि सडकमा आन्दोलन चर्केको छ ।  जसलाई नियन्त्रण गर्न सेनाले प्रदर्शनकारी माथि गोली समेत चलाउने गरेको छ । जसका कारण ६ सय जनाभन्दा बढीको ज्यान गइसकेको छ ।
अहिलेसम्म ४८ बालबालिकासहित ६ सय १४ जना मारिएको छ । प्रदर्शनकारीले सैनिक नियन्त्रणमा रहेकी लोकतन्त्रवादी नेतृ आङ सान सूचीलगायत नेताहरूको रिहाइको माग गर्दै आएका छन् । जननिर्वाचित सरकार पुनःस्थापना हुनुपर्ने आन्दोलनकारीको माग छ ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update