Kath Khabar
नर्भिक अस्पतालले ५० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं, पुस २८। नर्भिक इन्टरनेशनले हस्पिटल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा (एजीएम) ले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

आइपिओ निष्कासनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खुद नाफाबाट शेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।

नर्भिक अस्पतालको हालको चुक्तापुँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस शेयर वितरण पछि चुक्तापुँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस्तै, एजीएमले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने बताइएको छ ।

आज थापाथलीस्थित बिएलसी बिल्डिङमा सम्पन्न वार्षिक साधारणसभामा संचालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिनुभयो । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएको र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरू गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले अस्पतालमा हालै आइभिएफ सेन्टर संचालनमा आएको, निकट भविष्यमै अन्तर्राष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको, हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि सेयर निष्कासनको प्रक्रिया अगाडि बढाइने कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

एजीएममा नर्भिकका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा संचालक र सेयरधनीको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update