Kath khabar
वैैदेशिक अनुदान र ऋण देखाउने मात्रै, ल्याउन सक्दैन सरकार


काठमाडौं, वैशाख २८ । सरकारले बजेटका क्रममा ठूलो आकारको बैदेशिक ऋण तथा सहायता उपलब्ध हुने देखाउँछ । तर, वास्तवीक रुपमा भने यस्तो सहयोग न्युन मात्रै प्राप्ती हुने गरेको छ ।

चालु आर्थिक वर्षमा मात्रै सरकारले २ खर्ब ९९ अर्ब ५० करोड  बिदेशी ऋण ल्याउने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म यस्तो ऋण ६१ अर्ब मात्रै प्राप्त भएको छ । अर्थात वर्षका ९ महिना बित्दासम्म सरकारले लक्ष्यको जम्मा २० प्रतिशत मात्रै प्रांप्त गरेको छ । अब यता बैदेशिक अनुदान पनि ६० अर्ब ५२ करोड लक्ष्य राखेकामा जम्मा १० अर्ब मात्रै प्राप्त भएको छ । अर्थात बैदेशिक अनुदान पनि लक्ष्यको तुलनामा जम्मा १६ प्रतिशत मात्रै प्राप्ती भएको छ ।

सरकारले प्रत्येक वर्ष ठूलो अनुदान र ऋण प्राप्त हुने आसका साथ बजेट निर्माण गरेपनि त्यो प्राप्ती हुन सकेको छैन । बिशेषगरि विकास निर्माणका लागि आउने यस्तो बजेट  निर्माण पछि आउने भएका कारण सरकारले प्राप्त गर्न नसकेको हो । सरकारले निर्माणका काममा तिब्रता दिन नसक्नु र बिदेशीलाई ठूला आयोजनामा अनुदान दिन बिश्वास दिलाउन नसकेका कारण ऋण र अनुदान आउन नसकेको हो ।

यो वर्ष मात्रै होइन, गत वर्षको पनि प्राप्तीको अवस्था उस्तै थियो । गत आवमा सरकारले कुल ३ खर्ब ५६ अर्ब ८२ करोड रुपैयाँ वैदेशिक सहायता ल्याउने लक्ष्य लिएको थियो । जसमध्ये वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य बनाएको थियो । तर, गत आर्थिक वर्षको पनि ९ महिनासम्ममा लक्ष्यको जम्मा ३३ प्रतिशत मात्रै ऋण र अनुदान प्राप्त  गरेको थियो ।

त्यस्तै  आर्थिक वर्ष ०७५/७६ को बजेटमा वैदेशिक अनुदान र ऋण ३ खर्ब ११ अर्ब ८४ करोड रुपैयाँ ल्याउने लक्ष्य लिइएको थियो । तर  सो आवमा लक्ष्यको ४६ प्रतिशत अर्थात् १ खर्ब ४५ अर्ब ७२ करोड रुपैयाँ मात्रै ऋण र अनुदान प्राप्त भएको थियो ।


आव ०७५/७६ मा पनि सरकारले लक्ष्यअनुसार वैदेशिक अनुदान र वैदेशिक ऋण उठाउन सकेको थिएन । उक्त अवमा वैदेशिक अनुदान ५८ अर्ब ८१ करोड रुपैयाँ ल्याउने लक्ष्य राखिएकोमा २१ अर्ब ३५ करोड रुपैयाँ मात्रै आएको थियो । यो लक्ष्यको ३६ प्रतिशत मात्रै हो । त्यस्तै, वैदेशिक ऋण २ खर्ब ५३ अर्ब २ करोड रुपैयाँ परिचालन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब २४ अर्ब ३७ करोड रुपैयाँ मात्रै आएको थियो । यो लक्ष्यको ४९ प्रतिशत मात्रै हो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update