Kath Khabar
ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र, एकबाट १० मा सङ्क्रमण सार्ने

काठमाडौं, पुस २९। कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा आबद्ध रहनुभएका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताउनुभयो । उहाँका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।

“सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, उहाँले भन्नुभयो, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रुत गतिमा फैलिन्छ ।”

ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उहाँ बताउनुहुन्छ । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ”, उहाँले भन्नुभयो, “हामीले जनस्वास्थ्यका मापदण्ड लागू गर्यो भने सायद यसले व्यापक रुप लिँदैन ।”

हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ । यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलिमा इन्फेक्सन (असर) गर्दछ ।

“सङ्क्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ। जबकी डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो”, सङ्क्रामक रोग विशेषज्ञ डा कोइरालाले भन्नुभयो, “ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ । खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गाह्रो नबनाउने उहाँको भनाइ रहेको छ ।

खोप नलगाएकामा १० गुणाबढी सङ्क्रमण
कोरोना भाइरसविरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएकोभन्दा १० गुणाबढी सङ्क्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको उहाँले बताउनुभयो । उहाँका अनुसार ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गाह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ । उहाँले दुई वटा खोप लगाए जित्न सकिने बताउनुभयो ।

(रासस)

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update