काठमाडौं, वैशाख २८ । नेपाल सुपर लिग राउण्ड रोबिन सँकिदा रेफ्रीको निर्णय धेरै विवादित भयो । चितवन,काठमाडौं रेर्जस तथा विराटनगर एफसीका प्रशिक्षकले त पोष्ट म्याचमै स्तर नभएको रेफ्रीका कारण खेलको नतिजामा प्रभाव परेको बताउनुभयो ।
राउण्ड रोविनमा विराटनगर सिटीसँग चितवनले दुइ शुन्य गोलको हार ब्यहोरेकाे थियो । हारको भागीदार हुनुमा रेफ्रीको अपरिपक्व नतिजा रहेको चितवनका सहायक प्रशिक्षक शैलेश कर्माचार्यले बताउनु भयो । खेलको पहिलो गोल हुनु भन्दा अघि विराटनगरका विदेशी खेलाडीको हातमा लागेको थियो । तर रेफ्रीले ह्याण्ड बल दिएनन् । रेफ्रीको स्तर पुगेन, हामी अन्यायमा पर्यौ भन्ने प्रशिक्षक कर्माचार्यको दाबा रह्यो । तर सो गोल हातमा नभइ छातीमा नियन्त्रणमा लिइ विराटनगरका पेड्रो माञ्जीले विश्वस्तरीय फिनिसिङ गरेको फोर्थ अफिसियलको प्रतिक्रिया छ ।
बालगोपाल भन्छन् अफसाइड पनि नहेर्ने रेफ्री
काठमाण्डौँ रेजर्स तथा विराटनगर सिटी एफसी बिचको खेल, राउण्ड रोबिनको सबैभन्दा प्रतिस्पर्धात्मक, रोमाञ्चक घम्साघम्सी भएको खेल मानिन्छ । यो खेलमा कूल ९ गोल भएको थियो । काठमाण्डौँले ५-४ गोलको जित हात पारेको थियो । तर खेलमा विराटनगरले गरेको दोस्रो गोल भने विवादीत भन्यो ।
३३ औँ मिनेटमा मैदानको मध्यभागबाट सन्तोष तामाङले दिएको पासलाई पेड्रो माञ्जीले काठमाडौंका गोल रक्षक विकेश कुथुलाई छक्याएर गोल गर्नुभएको थियो । उहाँको पोजिशन अफसाइड भएको प्रशिक्षक बाल गोपालको दाबी थियो । गोल भए लगत्तै उहाँले रेफ्रीमाथि आक्रोस पोख्नु भयो । भिडियोको रिप्ले हेरौँ भनेको मिडिया बक्समा पनि सुनिन्थ्याे । काठमाडौंका बाँकी अफिसियल पनि रेफ्रीको निर्णय प्रति आक्रोसित थिए ।
काठमाण्डौँको एक अफिसियलले रातो कार्ड समेत पाउनु भयो । पोष्ट म्याचमा बालगोपालले भन्नु भयो हामी लाइनमै छौ, विराटनगरको दोस्रो गोल अफसाइड नै हो तर दिइएन । त्यसोत सोही खेलको ७५ औँ मिनेटमा मनिस डाँगीलाई आशिष गुरुङले पेनाल्टी बक्स भित्र लडाउँदा फउल पेनाल्टी समेत नदिएको विराटनगरको आक्रोश पनि रेफ्री प्रति रहयो । आशिषले मनिसलााई तानेर लडाएको प्रष्ट देखिन्थ्यो । तर रेफ्रीले फउल नदिएपछि विराटनगरको बक्स तातिएको थियो र एक अफिसियललाइ रातो कार्ड समेत दिइयो ।
दोस्रो हाफको इन्जुरी समयमा सन्तोषले गरेको प्रहार काठमाण्डौँका एक खेलाडीको हातमा लागेको थियो तर ह्याण्ड बल नदिएपछि विराटनगरको आक्रोश झन् बढ्यो । पोष्ट म्याचमा विराटनगरका प्रशिक्षक यान लले स्तरिय रेफ्री नभएको आरोप लगाउनुभयो । उहाँको खेलको स्तर बढाउन रेफ्री बिदेशी झिकाउन समेत जिकिर गर्नुभयो ।
विराटनगरको आक्रोशः स्कुल लेभलको फुटबल खेलाउने रेफ्री
'रेफ्रीकोे कारण हाम्रो महत्वपुर्ण खेलमा अंक गुमेको थियो । त्यसैले हामी प्ले अफमा पनि पुग्न सकेनौँ । यसो हुनुमा म त रेफ्रीको निर्णय अपरिपक्व रहेको भन्छु । किनभने रेफ्रीले कुन अफसाइड हो, कुन ह्याण्डबल हो त्यो दिँदैन । फोर्थ अफिसियले के हेर्छ, फिफाको कुन नियमबाट खेलाउँछ, त्यो पनि थाहाछैन । स्कुल लेभलको टुर्नामेण्ट खेलाउने रेफ्री छन् यहाँ' ,यान लले ललितपुरसँग चार शुन्य गोलको हार ब्येहोरेपछि पोष्ट म्याचमा भन्नुभयो ।
ललितपुरसँगको त्यो खेल विराटनगरले देखाएको अव्यवसायिक हर्कत अक्षम्य थियो । खेलको ६२ औँ मिनेटमा दोस्रो गोल खाएपछि यान ल र विराटनगरका अफिसियलको निर्देशनमा पेड्रो माञ्जी बाहेक अन्य खेलाडीले मैदान छाडेका थिए ।
रेफ्रीको निर्णयका कारण खेलाडीको आत्मविश्वास घटेको हो र हामी हार्न बाध्य भयौ। ‘स्कुल लेभलको टुर्नामेण्ट खेलाउने रेफ्रीलाई यत्रो ठुलो लिग खेलाउन दिनु हुन्न । यस्तै निर्णय गर्यो भने त बार्सिलोना पनि आयो भने हार्छ ’ उहाँले भन्नु भयो ।
अन्य प्रशिक्षक तथा अफिसियलले पनि रेफ्रीको आलोचना गरिरहेका छन् । यता रेफ्री कमिटीमै रहनु भएका एक जना सदस्यले नाम नबताउने शर्तमा भन्नुभयो । रेफ्रीको निर्णय गलत नै छ । ललितपुरसँगको खेलमा माञ्जीले गरेको प्रहारमा ह्याण्ड बल भएको हो । तर खोइ कसरी यस्तो हुन पुग्यो ।
हामीले पछि अध्धयन पनि गर्याै। बल पिटर सेगुनको हातमा लागेको थियो । अन्य त्रुटि पनि छन् । पेनाल्टीमा रेफ्रीको संकेत अघि नै गोल रक्षकहरु अघि बढ्छन् तर यसलाई अरुले नियालेका हुँदैनन् । हामीले बोल्न पनि मिलेन । रेफ्रीको कारण महत्वपुर्ण खेलमा योग्य टिमले पनि घाटा ब्यहोरिरहेका छन् ।
यो कुराको हेक्का एनएसएलका आयोजकहरुलाई पनि छ । रेफ्रीका निर्णय विरुद्ध टिमले पनि उजुरी दिइरहेका छन् । हामी यसबारे सचेत छौँ । आगामी दिनमा निर्णय लिनेछौ । एनएसएलले बताएको छ । साथै विराटनगरले खेलका दौरान देखाएको अनुसाशनहिन तथा अव्यवसायिक हर्कत विरुद्ध हामी चाँडै एक्सन लिन्छौँ ।