काठमाडौं, पुस २९ । दावी नपरेको निक्षेप बैंकिङ विकास कोषमा जम्मा राष्ट्र बैंकले निर्देशन दिएको छ । आज बिहीबार सूचना जारी गर्दे दावी नपरेको निक्षेप बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो निर्देशन अनुसार इजाजतपत्र प्राप्त सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरूको नाउँमा सूचना जारी गर्दे दावी नपरेको निक्षेप विकास कोषमा जम्मा गर्नुपर्ने छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १११ को उपदफा (३) र दफा ११२ को उपदफा (३) बमोजिम २० वर्षसम्म लिन बुझ्न नआएका, दावी नपरेका निक्षेप बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैकको बैंकिङ विकास कोषमा जम्मा गर्नुपर्ने छ, राष्ट्र बैंकले सूचना मार्फत भनेको छ ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११२ को उपदफा (१) बमोजिमको रकम २० वर्षसम्म लिन बुझ्न नआएमा सो रकम नेपाल राष्ट्र बैंकको बैंकिङ विकास कोष (अन क्लेम्ड डिपोजिट) अन्तर्गत तोकिएको हिसाबमा जम्मा गर्नुपर्ने छ । यसरी बैंकिङ विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्बन्धी विस्तृत विवरण सुरक्षित राख्ने जिम्मेवारी रकम जम्मा गर्ने बैंक तथा वित्तीय संस्थाहरूको हुनेछ, निर्देशनमा भनिएको छ ।
बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रक्रिया पुरा गरी राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरिसकेको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रकृया पुरा गरी दावी पर्न आएमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दावी पेश गर्नुपर्ने छ ।
आवश्यक कागजात सहित दावी पर्न आएमा सम्बन्धीत बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने छ । कोषमा राखिएको रकम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार बैंकिङ विकासमा प्रयोग गरिने जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।