Kath khabar
वैदेशिक व्यापारमा सुधारको संकेत

काठमाडौं, पुस २९ । मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैकले आज बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा कुल वस्तु निर्यात एक सय पाँच दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब दुई अर्ब ९२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात पाँच दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ३८  प्रतिशत र २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात एक दशमलव चार प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा कुल वस्तु आयात ५९ दशमलव पाँच प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नौ दशमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४ दशमलव छ प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र एक सय ११ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाबिन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४ दशमलव सात प्रतिशतले वृद्धि भई सात खर्ब ३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दशमलव नौ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२ दशमलव तीन प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव पाँच प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ९२ अर्ब ३४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१ अर्ब ८१ करोड बराबरको भएको थियो । समीक्षा अवधिमा खुद सेवा आय ३८ अर्ब ५२ करोडले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ५५ करोडले घाटामा रहेको थियो ।  सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय दुई सय ३९ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय दुई अर्ब ३२ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय एक सय सात प्रतिशतले वृद्धि भई २३ अर्ब ८३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १३ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ११ अर्ब ५१ करोड रहेकोमा शिक्षातर्फको व्यय नौ अर्ब ८१ करोेड रहेको रहेको छ ।  


 

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update