काठमाडौं, पुस ३०। नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिस गरे बमोजिम मिति २०७८ पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।
एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहनुभएको थियो भने र नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाको, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटी बनेको थियो ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात कायम भएको जनाएका छन् । उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ। सम्झौतापत्रमा नबिल बैंकको तर्फबाट श्री उदय कृष्ण उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक श्री इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको थियो ।
दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेत लाई मध्यनजर गर्दै सम्झौता गरेरअघि बढेका छन्। ब्रान्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैह्रकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक वाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास छ। बैंकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन्।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंकको प्राथमिक पूँजी ४३ अर्ब रुपैयाँ, चुक्ता पूँजी २२ अर्ब ५० करोड रुपैयाँ, कर्जा रकम तीन खर्ब र निक्षेप खर्ब तीन खर्ब १४ रुपैयाँ हुनेछ। गैह्रकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अरबमाथि हुनेछ । शाखा सञ्जाल तत्कालै दुई सय ३५ पुग्नेछन् । ग्राहक संख्या १६ लाख माथि हुनेछ। नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्र विन्दुमा राखेर आफ्नो व्यवसायलाई अघि बढाएको छ भने डिजिटल बैङ्किङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघि बढाउदै लिएको छ ।
बिहीबार काठमाण्डौँमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको दुवै बैंकले जनाएका छन् ।