काठमाडौं, माघ १। हिमालयन बैंकको लाभांश पारित भएको छ । बैकको शुक्रबार सम्पन्न भएको २९ औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र चार दशमलव ६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैंकको नेपाल इन्भेष्टमेन्ट बैंकसँग हुन लागेको मर्ज सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ । उपस्थित शेयरधनीमध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था भएकोमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
बैंकका अनुसार विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत विपक्षमा ४२ दशमलव २९ प्रतिशत र १४ दशमलव नौ प्रतिशतले मत हालेका थिएनन् । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १३ दशमलव २९ प्रतिशतले बढेर एक खर्ब ४९ अर्ब पुगेको तथा कर्जा सापटी २३ दशमलव ८३ प्रतिशतले बढी एक खर्ब ३२ अर्ब पुगेको बैकले जनाएको छ ।
बैंकले हाल देशभर ७४ शाखा, ५ बिस्तारित काउन्टर, एकसय ४८ एटिएम र पाँच हजार भन्दा बढी पिओएस टर्मिनलहरुबाट बैकिङ सेवा दिँदै आएको जनाएको छ ।