काठमाडौं, माघ २। सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ। खोप लगाएको ६ महिना पुगेका, कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरु सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क-कसले पाउँछन् बुस्टर डोज ?
मन्त्रालयका अनुसार स्वास्थ्य संस्था तथा अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, फोहर सङ्कलक तथा सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।
यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
माघ दोस्रो सातादेखि भने ६० वर्ष माथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाउने तयारी रहेको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा क्यान्सर रोगी, एचआईभी भएका बिरामी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्छन् ।
बुस्टर डोज लगाउन खोप लगाएको ६ महिना पुग्नुपर्नेछ। तथा पहिलो र दोस्रो मात्रामा जुन खोप लगाएको हो त्यही खोप लगाउनुपर्ने र पहिलेको खोप कार्ड लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।