ललितपुर, माघ २। स्थानीय र सम्बन्धित अन्य निकायहरूको समन्वय अभावमा बाटो विस्तारका कार्यहरु कतिवटा क्षेत्रमा अलपत्र अवस्थामा रहेका छन् । बाटो विस्तार र निर्माण कार्य सुस्त गतिमा त छँदैछ, त्यसमाथि पनि लामो समयसम्म सडकमा रहेका खम्बा, तार, धूलो, हिलो, सडक पेटिको अवस्थाले स्थानीयवासी आजित रहेका छन् ।
यसै क्रममा गएराति १०ः५७ बजेको समयमा महालक्ष्मीनगरपालिका-४ सीतापाखा हाइटमा ट्रिपरले खम्बामा ठक्कर दिँदा खम्बा भाँचिएर सम्पूर्ण तार बाटोमा लत्रिएको अवस्था छ । घनावस्तीको बीचमा भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
उक्त वस्तीको बाटो विस्तार कार्य करिब २ वर्ष अघि नै शुरु भएपनि अझै बनिसकेको छैन । पटकपटक दुर्घटना हुनु, बिजुली र अन्य तारका खम्बाहरु भाँचिनु सामान्य भैसकेको छ । कतिपय क्षेत्रमा बाटो पिच भैसक्दा पनि विद्युत प्राधिकरण र टेलिफोनका खम्बाहरू सडक क्षेत्रमै रहेका छन् । यस्ता दुर्घटना हुनुमा सवारी चालकहरूको लापरवाही पनि प्रमुख कारण रहेको छ ।
यस्ता दुर्घटनाहरूमा सवारी चालक, सम्बन्धित निकाय र काम गर्ने जिम्मेवारी पाएका ठेकेदार पक्ष सबैले एक अर्कालाई दोष देखाएर पन्छिने गरेको गुनासो स्थानीयवासीहरूको रहेको छ ।