काठमाडौ, वैशाख २८ । कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुनुहुँदैछ ।
वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई अक्सिजनको सपोटमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना हुनुभएको भोलिपल्टदेखि नै उहाँलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । नर्भिकमा भर्ना भएपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो । यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरुको सल्लाहअनुसार उहाँ आज डिस्चार्ज हुन लाग्नुभएको हो ।
नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।