काठमाडौं, माघ ३ । नेपाल राष्ट्र बैंकले दुई रुपैयाँको नयाँ सिक्का शुक्रबारदेखि चलनचल्तीमा ल्याएको छ । दृष्टिविहीन तथा विदेशी नागरिकले समेत चिन्ने गरि नयाँ सिक्को डिजाइन गरिएको छ । जसमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको पालामा सार्वजनिक गरिएको नयाँ नक्सा अग्रभागमा राखिएको छ ।
यसअघिको सिक्काको अग्रभागमा हिमाल पहाड र तराईसँगै खेतमा एक हल गोरुसँग एक जना ब्यक्तिले हलो जोतिरहेको प्रतीक राखिएको थियो । जसमा अंग्रेजी अक्षरहरू राखिएको थिएन । तर, नयाँ सिक्काको अग्रभागमा ७ प्रदेश छुट्टिने गरि नेपालको नयाँ नक्सा अर्थात चुच्चे नक्सा राखिएको छ । साथै यस्तो सिक्का दुई रुपैयाँको हो भनेर अङ्ग्रेजीमा पनि राखिएको छ ।
पछाडि पट्टीको भागमा यसअघि सगरमाथाको प्रतीक राखिएकामा अहिलेको नयाँ सिक्कामा जानकी मन्दिरको प्रतीक राखिएको छ । यस्ता दुईको नयाँ सिक्का ८ करोड रुपैयाँ बराबरको छापिएको राष्ट्र बैंकले जनाएको छ। दृष्टिविहीनका लागि भनेर अग्रभागमा दुईवटा थोप्ला राखिएको भएपनि यो ब्रेल लिपि पढेकाहरूले मात्रै खुट्याउन सक्ने र अन्यले भने यसलाई चिन्न नसक्ने पाइएको छ ।
यो नयाँ सिक्का बेलायतको रोयल मिन्ट अफ इङ्ल्यान्डमा छापिएको हो भने यसको लागत करिब पौने तिन अर्ब जति रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।