Kath Khabar
अनलाइन प्रणालीको सफलतापछि श्रममन्त्री श्रेष्ठद्वारा वैदेशिक रोजगार कार्यालयको अनुगमन

काठमाडौं, माघ ३। वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन दिएपछि पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र थालिएको हो । वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको छ ।

आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्याल सहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट सुरु गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गर्नुभएको थियो । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र  पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्री श्रेष्ठले आफूले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउनुहुँदै अनलाइन प्रणालीको सफलता महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले अनलाइन प्रणालीबाट सफलतापूर्वक सेवा प्रवाह सुरु गरेकोमा कर्मचारीहरूलाई धन्यवाद दिनुभयो ।

सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउनुहुँदै सेवा प्रवाहलाई सरलीकृत गर्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुख रमेश अर्यालले सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न कार्यालय परिसर भित्र हेल्प डेस्क स्थापना गरिएको र कार्यालयको काममा ठगिएमा, गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष सेवाग्राहीले गुनासो राख्ने वातावरण मिलाइएको जानकारी दिनुभयो ।

यसअघि श्रम स्वीकृति नवीकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको छ । कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ। औसतमा कार्यालयबाट प्रति दिन १५ सय ६५ जनाको अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।


 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update