Kath khabar
औषधिय गुण भएको हिमालमा पाइने 'डालेचुक' अर्थात तर्बुबारे जानौं !

काठमाडौं, माघ ३। औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ। यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक तोरा (होचा प्रजाति) (Hippophae Tibetana Schlecht) र डालेचुक (चिची अग्लो प्रजाति (Hippophae Salicifolia D.Don) गरी दुई प्रजाति मात्र रहेका छन् ।

दार्चुला, बझाङ, बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन् । इलाग्नेसी वनस्पति प्रजातिमा पर्ने यो स-साना बुट्यानदेखि झाडीदार मझौला रुखसम्मका बहुउपयोगी काँडेदार र पतझड वनस्पतिलाई अङ्ग्रेजीमा सिवकर्थोन (Sea-Buckthorn) संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ ।

हुन त प्रायः सबै वनस्पति मानिसको जन्मदेखि मृत्युपर्यन्त उपयोगी मानिन्छ तर डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महत्वपूर्ण र जीवनोपयोगी हुन्छन् । यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ। त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ। अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ ।

यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ। यसको फलको रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तत्व पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ ।

विश्वभरिमा सबभन्दा बढी डालेचुकमा नयाँनयाँ प्रविधिको विकास चीनले गरेको छ। नेपालमा पनि हिमाली जिल्लाहरूमा निर्मित जुस अन्तर्राष्ट्रिय बजार जापान, अमेरिका, जर्मनी आदि देशमा जान थालेको छ। यसको मसिनो बीउबाट तेल उत्पादन गर्न सकिन्छ, जुन तेल भटमास, गहुँ र मकैको भन्दा धेरै गुना बढी भिटामिन ई र बिटाक्यारोटिन भन्ने उपयोगी तत्वले भरिपूर्ण हुन्छ । त्यसैले विश्व बजारमा यसको तेलको माग पनि अधिक छ । यसको पात पशुवस्तुका लागि अत्यन्त उत्तम मानिन्छ । यसको पातबाट हरियो आयुर्वेदिक चिया बनाइ बेच्ने गरिएको छ ।

पौष्टिक तत्वले युक्त यसको पातबाट बनेको चिया खाएमा मानिसको स्वास्थ्यलाई कुनै असर गर्दैन । यसको फल र बीउको छोक्रा आयुर्वेदिक चिया बनाउन उपयोगी हुन्छ तर बोक्रा चाहिँ अल्सर तथा क्यान्सरको उपचारको लागि प्रयोग गर्ने गरिएको छ। हाम्रा हिमाली भेकमा फालिएका, नदी किनारका बलौटे जमीनहरू र पहिरो गएका स्थानहरूमा उम्रने र बढ्ने यो वनस्पति पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण छ । वायुमण्डलीय नाइट्रोजन भन्ने तत्वलाई पनि माटोतिर तान्न सक्ने हुँदा कृषकहरू यसको खेतीबाट निकै नै लाभान्वित भएका छन् ।

औषत उत्पादन प्रति बोट ५ देखि ७ किलोग्राम उत्पादन हुने डालेचुक प्रति हेक्टरमा ४ देखि ५ टन उत्पादन गर्न सकिन्छ । चीनले यसको ठूलो मात्रामा खेती गरिरहेको छ । १५० भन्दा बढी उद्योगहरुबाट विश्व बजारमा २०० प्रकारका उत्पादन चीनबाट निर्यात भैरहेका छन् । तर विडम्बना हामीले भने यस्तो अमुल्य फल चिन्न सकिरहेका छैनौं । जङ्गल मै खेर गैरहेको छ ।

विदेशीको योजनामा लागू भएको यो देशको शिक्षा प्रणालीले यस्तो संजिवनी बुटी चिन्न सक्ने ज्ञान दिने कुरै भएन त्यसैले नेपालका जङ्गलमा यो अमृत खेर गैरहेको छ । आखिर कहिले सम्म ? मौलिक शिल्पमा आधारित उद्यमशिलता र आयुर्वेदमा आधारित स्वास्थ्य नीतिलाई प्रवर्द्धन गरौं । यो संजिवनी बुटीले मुर्छा परेका लक्ष्मणलाई ब्युताएको थियो हाम्रा रोग निको कसो नपार्ला ?

 

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update