
काठमाडौं, माघ ४। नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फेला परेपछि सङ्क्रमितको सङ्ख्या गत सातादेखि निरन्तर बढिरहेको छ। अहिले काठमाण्डूमा ४,००४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जनामा कोभिड पुष्टि भएको हो। यससँगै उपत्यकामा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या २४, ५७६ पुगेको छ। पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन् । दैनिक सङ्क्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक सङ्क्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।
पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।
यस एकहप्ताको बीचमा सक्रिय सङ्क्रमित हुने सङ्ख्या पनि बढेको छ । पुुुस २८ गते ११ हजार ६९० सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ । पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने आज ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।