Kath Khabar
रामप्रसाद खनालको यस्तो छ नयाँ गीतको तयारी

काठमाडौं, माघ ४। वरिष्ठ लोकगायक रामप्रसाद खनाल एकसाथ सात वटा गीत ल्याउने तयारीमा रहनुभएको छ । पछिल्लो समय अमेरिका रहँदै आएका खनाल पारिवारिक कामले केही अगाडि नेपाल आउनुभएको थियो । हरेक पटक नेपाल आउँदा नयाँ गीत संगीत र पुस्तक सार्वजनिक गर्ने खनालले एक पुस्तक ‘माटोको दुखाई’ नामक कविता संग्रह समेत सार्वजनिक गर्नुभएको छ ।

खनालले सार्वजनिक ल्याउने तयारी गरेका सात गीतमा लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक छन् । ती सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये चार वटा गीतको म्युजिक भिडियो छायाङ्कन समेत भएको र तीन गीतको बाँकी रहेको खनालले बताउनुभयो ।

तर कोरोनाका कारण बाँकी गीतको म्युजिक भिडियो छायाङ्कन सम्भव हुन नसकेको खनालले बताउनुभयो । ‘सबै गीतको भिडियो छिट्टै सक्ने योजना थियो’ खनालले भने ‘बढ्दो कोरोना संक्रमणले अलमल्ल पार्यो ।’ बाँकी तीन गीतको भिडियो अहिले गर्ने कि पछि गर्ने केही निर्णय गर्न नसकेको उहाँले सुनाउनुभयो । खनालले ल्याउन लागेका ७ गीतमध्ये पहिलो ‘हे कृष्ण ह राम’ बोलको भजन गीत रहेको छ । शब्द, संगीत र स्वर उनकै रहेको गीतमा कोरस गायन समेत समेटिएको छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा गायक खनाल, शिवहरि पौडेल लगायतको अभिनय समेटिएको छ । प्रकाश भट्टसँगको सहकार्यमा उहाँ आफैंले निर्देशन गरेको भजन अहिले सार्वजनिक गरिएको छ । भजनले समाजमा धार्मिक आस्था बाँड्ने, भौतिक र अनुशासित हुन सहयोग पुग्ने खनालले बताउनुभयो ।

खनालका अन्य गीतहरुमध्ये दोस्रो ‘तिम्री आमा मेरी आमा’ बोलको छ । लोक आधुनिक शैलीको यो गीतले श्रीमान् श्रीमतीलाई घर र माइतमा समान व्यवहार प्रेरित गर्ने खनालको विश्वास छ । खनालको शब्द तथा स्वर रहेको गीतमा संगीत सुरेश अधिकारीले दिनुभएको छ ।

तेस्रो गीत भने उहाँको गायिका सुनिता बुढाक्षेत्रीसँगको सहकार्यमा ‘एउटा ढुकुर उडिगयो’ बोलको दोहोरी गीत छ । भिडियो समेत बनेको गीतमा थानेश्वर गौतमले संगीत र कमल सरगमले संगीत संयोजन गर्नुभएको छ । यस्तै खनालले चौथो गीतको रुपमा ‘बग्ने पानीले, मेरो दिल चोरिन् च्यान्टी नानीले’ बोलको लोकगीत बनाउनुभएको छ । उहाँकै शब्द, संगीत र स्वर रहेको यो गीतको समेत भिडियो छायाङ्कन भएको छ । यो गीतको भिडियोमा अभिनेत्री रजनी केसीको साथमा खनाल आफैंले पनि अभिनय गर्नुभएको छ । यो गीतमा सबैले नाच्ने खनालले दाबी गर्नुभयो ।

भिडियो गर्न बाकी रहेको तीन गीत ‘यस्तै छ यहाँको चलन’ शीर्षकको गजल, ‘बाँकी छ हेर’ शीर्षकको ख्याली गीत र ‘फूल फुलेझैं’ बोलको दोहोरी गीत छ । जसमध्ये ‘यस्तै छ यहाँको चलन’ थानेश्वर गौतमको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गजल गीत हो । यसमा पनि शब्द तथा स्वर उहाँकै छ । ‘फूल फुलेझैं’ दोहोरी गीत भने उहाँले ल्याउन लागेको अन्तिम गीत हो ।

यो लोकदोहोरी गीत अलि पृथक रहेको उहाँको भनाई रहेको छ । उहाँकै शब्द रहेको यो गीत गायनमा उहाँलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिनुभएको छ । कमल सरगमको संगीत रहेको गीतले गाउँघरको पानी पँधेरोदेखि विकसित ठाउँको भोगाइ समेत व्यक्त गरेको छ । म्युजिक भिडियो छायाङ्कन भएको गीतहरू भने दुई देखि चार हप्ताको अन्तरमा सबै सार्वजनिक गर्ने खनालले बताउनुभयो ।

एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोकदोहोरीलाई स्थापित गराउने काम गरेका खनाल गुल्मी धरन्पानी मैनडाँडामा जन्मिनुभएको हो । पछिल्लो समय वासिङ्टन डिसी अमेरिका बस्दै आएका उहाँले १२ सय बढी गीतमा स्वर दिनुभएको छ । लोकगीत, दोहोरी गीत, तीज र भजन गरेर ५२ एल्बम बजारमा ल्याएका उहाँको ‘माटोको दुःखाई’ कविता सङ्ग्रह पुस्तकमा अठारौँ कृति हो । १५०० बढी कविता, मुक्तक, गजल लेखन गरेका खनाल विगत ३० बर्षदेखि गीत संगीत, लोक संस्कृति र साहित्य क्षेत्रमा क्रियाशील रहनुभएको छ ।

रेडियो नेपाल, नेपाल टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएका खनाल थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट समेत सम्मानित छन् । उहाँ अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक तथा अध्यक्ष हुनुहुन्छ । ‘देउरालीमा पीपल छायाँले’, ‘दिन बिताउनै गाह्रो भो मलाई त पागल भएँ तिम्रै मायाले’, ‘छाता ओझेल पारिदेऊ बर्खे झरीमा’ लगायत खनालका थुप्रै गीत लोकप्रिय रहेकाछन् ।

भिडियो लिंक -
https://youtu.be/ar54AW1G-yc


 

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update