काठमाडौं, माघ ४। पेट्रोलियम पदार्थको मूल्य तिर्नको लागि नेपाल आयल निगम ऋण लिनु पर्ने अवस्थामा पुगेको छ । निगमका सह-प्रवक्ता पुष्कर कार्कीद्धारा जारी प्रेस विज्ञप्तिमा इन्डियन आयल कर्पोरेसनलाई भुक्तानीका लागि करिब दुई अर्ब अपुग हुने स्थिति देखिएको भन्दै ऋण आवश्यक परेको उल्लेख छ ।
निगमका अनुसार अब निगमसँग सञ्चित बचत शून्यको अवस्थामा पुगेकोले इन्डियन आयल कर्पोरेसनलाई आगामी २०२२ जनवरी २३ मा गर्नुपर्ने भुक्तानीका लागि करिब दुई अर्ब रुपैयाँ अपुग हुने स्थिति देखिएको छ । यसको व्यवस्थापनको लागि निगमले ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिति देखिएको छ । आँउदा दिनहरूमा केही मूल्य समायोजन गरिए तापनि महिनाको करिब चार अर्ब रुपैयाँ भन्दा बढी नै मासिक घाटा रही रहने देखिएको हुँदा आगामी तीन महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राख्न हालको खरिद मूल्य अनुसार निगमलाई न्यूनतम करिब १२ अर्ब रुपैयाँको आवश्यकता पर्ने देखिएको छ ।
त्यस्तै निगमले पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुरूप निगमको आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट गत आइतबारमा प्राप्त नयाँ मूल्य बमोजिम निगमलाई १५ दिनमा करिब दुई अर्ब २४ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको बताएको छ ।
पेट्रोलमा १३ रुपैयाँ १८ पैसा प्रति लिटर घाटा, (१५ दिनको घाटा करिब ४२.७९ करोड रुपैयाँ), डिजेल आठ रुपैयाँ ८१ पैसा प्रति लिटर घाटा (१५ दिनको घाटा करिब ७९.९९ करोड रुपैयाँ), मट्टितेल २० रुपैयाँ ५० पैसा प्रति लिटर घाटा (१५ दिनको नाफा करिब १.८७ करोड रुपैयाँ) र एल.पि.ग्यास छ सय ४३ रुपैयाँ १६ पैसा प्रति सिलिन्डर घाटा (१५ दिनको घाटा करिब ११४.८६ करोड रुपैयाँ) र हवाई इन्धन १४ रुपैयाँ ७३ पैसा प्रति लिटर औसत नाफा (१५ दिनको नाफा करिब ११.३७ करोड) हुने बताइएको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्य प्राप्त गर्ने गरेको र चालु आर्थिक वर्षको हालसम्मको छ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको थियो । यस अवधिमा निगमले गत भदौ ७ गते, १२ गते र २४ गते गरी जम्मा तीन पटक मात्र मूल्य समायोजन गरेको थियो। यस अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्मको छ महिनाको अवधिमा निगमले अनुमानित १९ अर्ब २६ करोड रुपैयाँ घाटा ब्यहोरी सकेको अवस्था छ ।
यदि २०२२ जनवरी १६ मा प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा थप दुई अर्ब २४ करोड रुपैयाँ घाटा ब्यहोरी चालु आर्थिक वर्षको माघ १७ सम्ममा २१ अर्ब ५० करोड रुपैयाँ घाटा ब्यहोर्न पर्ने अवस्था देखिन्छ ।
निगमले हालसम्मको नोक्सानीको व्यवस्थापन निगमको बचतमा रहेको सञ्चिति मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनस लगायत अन्य प्रयोजनमा छुटाई राखिएको रकमबाट इन्डियन आयल कर्पोरेसनलाई सम्झौता अनुरूप भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाई राखेका, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा प्रति लिटर पेट्रोल ३८ रुपैयाँ ३ पैसाले सस्तो, डिजेल ३१ रुपैयाँ १२ पैसाले सस्तो र एल.पी.ग्यास प्रति सिलिन्डर ५० रुपैयाँ ६५ पैसाले नेपालतर्फ सस्तो तथा हवाई इन्धन (आन्तरिकतर्फ) मा ३२ रुपैयाँ ९६ पैसाले भारतको कलकत्ता भन्दा नेपालतर्फ नै सस्तो रहेको समेत निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।