Kath Khabar
ग्रामीण भेगका भन्दा शहरी क्षेत्रका जग्गाको कारोबार बढ्यो, महँगा जग्गाको किनबेचले राज्यलाई झन्डै दोब्बर लाभ

काठमाडौं, माघ वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको रेमिट्यान्सले पछिल्लो समय शहरी क्षेत्रमा जग्गाको कारोबार ह्वात्तै बढाएको छ । यो वर्षको ६ महिनामा पनि शहरी क्षेत्रका भागमा रहेका टुक्रे जग्गामा ग्राहकको आकर्षण बढेको छ ।

शहरी क्षेत्रका महँगा जग्गाको कारोबार बढ्दा त्यसले सरकारको राजस्व भने ह्वात्तै बढाएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार साउन यता देखि पुष सम्मको ६ महिनामा कुल कारोबारमा २१ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्षको पुष मसान्तसम्ममा ८ लाख ८ हजार वटा जग्गाको किनबेच भएकोमा यो वर्षको सोही अवधिमा यस्तो कारोबार १० लाख पुगेको छ । विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारी भन्छन् ‘ शहरी क्षेत्रका जग्गाको कारोबार ह्वात्तै बढेकाले कारोबारको संख्या २१ मात्रै वृद्धि हुँदापनि कुल राजस्वमा भने ४४ प्रतिशतको बृद्धि अर्थात गत वर्षको तुलनामा १९ अर्ब १८ करोड बढि राजस्व प्राप्त भएको छ ।

विभागका अनुसार गत वर्षको पुष मसान्तमा २ लाख १४ हजार वटा जग्गा किनबेच भएकोमा यो वर्षको पुष महिनामा १ लाख ५७ हजार जग्गा किनबेच भएका छन् । अर्थात  गत वर्षको तुलनामा यो वर्षको सोहि अवधिमा यस्तो कारोबारमा ३६ दशमलव चार आठ प्रतिशतले कमी आएको छ । गत मंसिर महिनामा भने यस्तो कारोबार अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले मात्रै बढेको थियो । जबकी गत भाद्र महिनामा यस्तो कारोबार गत वर्षको  तुलनामा ७२ प्रतिशतले बढेको थियो ।

मंसिर र पुष महिनाको तथ्यांक केलाउँदा घरजग्गा कारोबारमा बिस्तारै सुस्तता आएको देखिएपनि यो वर्षको छ महिनाको पूर्ण तथ्यांक केलाउँदा चाँहि गत वर्षको तुलनामा कारोबारमा वृद्धि भएको देखिन्छ ।
    

 

 

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update