
काठमाडौं, माघ ५। साताको चौथो कारोबार दिन आज बुधबार शेयर बजार रातै देखिएको छ । नेप्से आज ३८ दशमलव ३५ अंकले घटेर २८ सय ९८ दशमलव ३१ अंकमा सीमित हुँदा सेन्सिटिभ पनि सात दशमलव ८१ अंकले घटेर पाँच सय ३९ दशमलव ६५ अंकमा सीमित हुुन पुगेको छ । आज दुई सय २८ वटा कम्पनीहरुको ८४ हजार दुई सय ३३ पटकको कारोबारमा एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता शेयर खरिद बिक्री भएकाछन् । सोही खरिद बिक्रीका आधारमा कारोबार रकम छ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकाछन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर शेयर बजार पुरै रातो देखिएको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, एनआईबिएल समृद्धि फण्ड २, बोटर्लस नेपाल तराई लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने घलेम्दी हाइड्रो पावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, तेह्थुम पावर लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अपि पावर लिमिटेड, सुर्या लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।