काठमाडौं, माघ ५ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि बुधबार ९९ जना नेपाली युवा इजरायल जाँदैछन् । वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो । उनीहरु राति ११ बजे त्यसतर्फ लाग्नेछन् ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पदमा कार्य गर्न अनुमति प्राप्त भएका सो संख्यामा रहेका युवाहरु इजरायल जान लागेका हुन् । पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेको विभागले जनाएको छ । २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सो संख्या घटेको विभागका अधिकारीहरूको भनाई छ । अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुनेछ उहाँहरुले बताउनु भयो ।
यो इजरायलको लागि पहिलो उडान हो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुनेछ । यसैगरी दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् । विभागका अनुसार माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएको थियो । श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको १७५ दिन अर्थात् २५ हप्तामा नेपाली कामदारलाई इजरायल उडाउने टुङ्गो लागेको हो ।
इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जानकारी उहाँले दिनुभयो। नेपाल सरकार र इजरायल सरकारको सम्झौता अनुसार छनौट प्रक्रियाको सम्पूर्ण कार्य वैदेशिक रोजगार विभागको नेतृत्वमा सम्पन्न भएको थियो ।
इजरायल जाने नेपाली कामदार पाँच वर्षको लागि हो भने प्रत्येक वर्ष भिसा नवीकरण गर्नु पर्नेछ। इजरायल जाने नेपाली कामदारलाई इजरायलस्थित रोजगारदाताले १४ दिन क्वारेन्टाइन राख्नेछ । इजरायल सुरक्षित गन्तव्यमध्ये एक हो र अर्को आकर्षक पारिश्रमिक पनि हो ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार पठाउने कार्यलाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै नेपाल सरकारले ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ निर्माण गरी सोही अनुरूप नेपाली युवाका लागि इजरायल रोजगारी अघि बढाइएको हो । आकर्षक गन्तव्य मानिएको इजरायल जाँदा युवाहरूलाई आर्थिक भार परेको भन्दै सन् २००९ मा भने रोकिएको थियो ।