ललितपुर, माघ ५। बुङ्गमती मच्छिन्द्रबहालको उत्तरी ढोकाबाट बाहिर झर्ने बित्तिकै एउटा पाषाणको सिंह गाडिएको अवस्थामा पाउँछौं । किन त्यसरी राखिएको भनेर प्राय मान्छेहरुले उत्साहित भएर सोध्ने गर्छन् । यस गाडिएको सिंहबारे निकै भ्रमहरु फैलिएको पाइएको छ, यो कुनै ठेकेदारले बाटो बनाउने क्रममा गाडिएको नभई परापुर्व काल देखि नै गाडिएको सिंह हो।
स्थानीय ज्येष्ठ नागरिकहरुले भने अनुसार 'पहिला बुङ्गमतीमा तीनवटा सिंह थियो रे । दुईवटा सिंहले मच्छिन्द्रबहालको संरक्षण गर्थ्यो, एउटा सिंह भने वरिपरि घुमेर मान्छेको घरआँगन चहार्दै दिनचर्या बिताउने गर्थ्यो। त्यो सिंहसँग तन्त्र शक्ति थियो र अरुलाई रोगव्याधी लगाउन सक्थ्यो। एकपल्ट बुङ्गमतीमा पेट दुख्ने महामारी फैलियो । वैद्यकहाँ गएर पनि किन रोग लागेको हो पत्ता लगाउन सकेनन् । मान्छेहरु बुङ्गमतीकै एक तान्त्रिक कहाँ गए र तान्त्रिकले आफ्नो विद्याको बलबाट त्यसरी रोग लाग्नु पछाडि त्यो सिंहको दोष रहेको पत्ता लगाए जो यताउता चहार्दै मान्छेहरुले धुम्प्वाचा (फोहोर पानी बग्ने प्वाल) सफा नगरेकोले रिसाएर बसेका थिए । त्यसपछि मान्छेहरु घरआँगन, धुम्प्वाचा सफा राख्न थाले र त्यो सिंह फेरी रिसाउने होकि भनेर सबै मिलेर समातेर यता उता चहार्न नमिल्ने गरी जमिनमुनि गाडी दिए । त्यसपछि पेट दुख्ने महामारी रोग निको भयो ।'
बुङ्गमतीमा अहिले पनि कसैलाई पेट दुखेको छ भने पहिला त्यो गाडिएको सिंहतिर गएर खाना राख्न (बउ तवनेगु) जाने चलन रहेको छ भने पुनाहैम्ह सिंह (रोग सार्ने सिंह) भनेर यससँग सतर्क रहेर बस्ने गर्दछन् । कथाले जे भने पनि यसले आफ्नो घर आँगन सफा राख्नुपर्छ भन्ने सन्देश दिन्छ ।
स्रोत : (awakened Bungamati)