Kath Khabar
बजारमा सिटामोलको अभाव हटाउन प्रधानमन्त्रीज्यूको निर्देशन

काठमाडौं, माघ ६ । केहि दिनदेखि बजारमा सिटामोलको अभाव भएको पाईएको छ। हरेक मेडिकल, अस्पताल र स्वास्थ्य चौकीहरुमा सिटामोल जस्तो निकै महत्वपुर्ण औषधीको अभाव भैरहेको छ। कोभिड-१९को संक्रमण बढेसँगै पारासिटामोलको अभाव भएको सर्वसाधारणले गुनासो गरेका छन् । पछिल्लो समय अस्पताल जानेभन्दा घरमा आइसोलेसनमा बस्ने संक्रमित धेरै हुँदा पारा सिटामोल खरिद उच्च हुन पुगेको छ।

कोभिड-१९ को पुन: संक्रमण बढेसँगै  सिटामोलको माग बढेपछि अभाव सुरु भएको नेपाल औषधि लिमिटेडको प्रबन्ध निर्देशक बताउनुहुन्छ । ‘पछिल्लो केहि दिन यता ज्वरोका बिरामी बढेका छन् । जसले गर्दा पारासिटामोलको माग बढेको छ। यसअघि हाम्रोमा पेन्डिङका अर्डर थिएनन् । तर, आजका दिनमा कम्तीमा ४० वटा अर्डरहरु पेन्डिङ छन् । विशेषगरी १० दिन यता अचानक सिटामोलको माग बढेको छ ।’ उहाँका अनुसार नेपालमा पारा सिटामोल अभाव हुनुमा औषधि बजारमा भएको उथलपुथल नै हो ।

चीनमा सबैभन्दा धेरै पारासिटामोल उत्पादन गर्ने कच्चापदार्थ बन्छ । यससँगै भारत र बङ्गलादेशमा पनि केहि उत्पादन हुन्छ । बङ्गलादेशले उत्पादन गरेको मेटेरियल आफ्नै देशमा खपत हुन्छ। बाहिरीदेशमा बिक्री गर्दैन । भारतमा चाँही आफूलाई आवश्यक पर्ने राखेर अरु बाहिर पठाउँछन् । भारतका केहि पारा सिटामोल उत्पादन गर्ने कम्पनीहरु बन्द भएका छन् । जसले पारा सिटामोल राम्रो उत्पादन गर्थ्यो। यसको असर नेपाली बजारमा पनि परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोल अभाव तत्काल हटाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले बुधबार सिटामोल लगायत औषधिको अभाव भएको जानकारी आएको भन्दै यस्ता औषधिको अभाव तत्काल हटाउन गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिनुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावको विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो ।

औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार पार्नुका साथै बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update