काठमाडौं, वैशाख २८ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’ को निरीक्षण गर्नुभएको छ ।
निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र संचालन गर्ने प्रबन्ध मिलाउनुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र संचालनमा ल्याउने तयारी गरिएको छ ।
तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलेसन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।
काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइएको सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेसन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।