काठमाडौं, माघ ७ । १७ औं शताब्दीमा चीनको छ्वान राज्यका राजाको मुकुटमा 'ॐ आः हुँ’ मन्त्र कुँदिएको छ। यो सँस्कृत भाषाको वीजाक्षर मन्त्र हो जुन भगवानको नाम पुकार्न प्रयोग गरिन्छ । यो मन्त्रसँगै बौद्धधर्मको मन्त्र ‘ॐ मणिपद्मे हुँ’ पनि लेखिएको छ। तर राजाको मुकुटमा यी मन्त्र चिनिँया भाषामा लेखिएको छैन। यी मात्र रञ्जना लिपिमा लेखिएको छ। रञ्जना लिपि, अर्थात नेपालको लिपि। सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुँदा रञ्जनालाई नेपालको लिपि भनेर चिनाइएको थियो। रञ्जनाको विकास एघारौंदेखि अठारौं शताब्दीमा भएको मानिन्छ। यही समयमा बौद्ध तथा हिन्दु ग्रन्थहरू, मन्त्र, श्लोक, स्वास्थ्य उपचार विधि, शिलालेख, ताम्रपत्रहरू धमाधम रञ्जनामा लेखिन थालिएको लिपि विज्ञ तमोट बताउँनुहुन्छ।
संसारकै सुन्दर लिपि भनेर पनि चिनिने रञ्जना लिपि, चीनको अरु महत्वपूर्ण ठाउँहरूमा पनि कोरिएको पाइएको छ। चीनको ग्रेटवाल अफ चाइनामा पनि रञ्जना लिपिमा विभिन्न अक्षर कुँदिएका छन्। १३ औं शताब्दीतिर नै ग्रेटवालमा रञ्जना लिपि फेला परेको थियो। ग्रेटवालमा सन् १३४५ मा बनेको युन्थाई (क्लाउड टेरेस) भन्ने नगरढोकामा संस्कृत मन्त्र कुँदिएको छ। यो रञ्जना लिपिमा छ। त्यो बौद्ध सूत्र सितातो पत्रोष्णीषधारणी हो। यसको अर्थ शीत र घामबाट बचाउने हुन्छ।
अहिले भने संसारको सबै ठाउँमा रञ्जना लिपि निकै प्रख्यात रहेको छ, तर नेपालमा नै यसको वास्ता गरिएको छैन। राणा कालमा लेखिएको थुप्रै किताबहरू नष्ट हुन पुगेको छ। ति सबै किताबहरू भने रञ्जना लिपिमा लेखिएको थियो। ति किताबहरू नष्ट नभएको भए हामीले अझ धेरै इतिहास पत्ता लगाउन सक्थ्यौ। नेपाल लिपि गुथीले रञ्जना लिपि सिकाउँदै, प्रचारप्रसार एवं अनुसन्धान गरिरहेको छ। यसरी भने नेपालमा नै रञ्जना लिपिको प्रयोग र संरक्षण गर्न सकिन्छ।