काठमाडौं, माघ ८ । दिनमा भन्दा रातमा गुल्जार हुने बजार ठमेल । विभिन्न कालखण्डमा सर्जकहरुको अनेकन सिर्जनाहरु जन्मिएको बजार ठमेल । २०७६ चैत्र १० गते रातीसम्म आफ्नै सुरमा झुमिरहेको ठमेल, एक्कासी परेको कोरोनाको बज्रपातबाट गुज्रिदै र विभिन्न आरोह-अवरोह, उतार–चढावहरु पार गर्दै पुनः एकपटक चूक घोप्टिए जस्तो निस्पट्ट अध्याँरोमा मरेको अक्टोपस जस्तै लमतन्न परेको छ ।
पर्यटनविद् कर्ण शाक्यले आफ्नो निजी निवासलाई अलिकति परिमार्जन गरी १३ वटा कोठाबाट व्यावसायिक रुपमा सन् १९६८ मा ‘काठमाडौं गेष्ट हाउस’ शुरु गरेपछि बन्न थालेको ठमेल सायद अहिले जसरी कहिल्यै थला परेको थिएन । यद्यपि सबै क्षेत्रको हालत उस्तै छ ।
पर्यटन पूर्वाधारका लागि यसो हेर्दा सबै चिज भए जस्तो तर फेरी धेरै चिज अव्यवस्थित र अपूग भए जस्तो ठमेल बिदेशी पर्यटक र नेपाली युवा पुस्ताको जमघट र रमाइलो गर्ने ठाउँ बन्न पुगेको छ । चाहे नेपाली नयाँ वर्षमा या अंग्रेजी नयाँ वर्ष, चाहे क्रिसमसमा, ल्होसारहरु या चाइनिज नयाँ वर्ष । हामी सबै चाडपर्व समान रुपले मान्छौ बिना हिच्किचाहट । यस्ता जमघटमा चाहिने स्वादहरु रैथाने मौलिक नेपाली, नेवारी र थकालीदेखि लिएर यूरोपियन, उत्तर–दक्षिण अमेरिकी साथै मध्य पूर्वदेखि भारत हुँदै चाइनिज ओरिएन्टलसम्म सबै पाउन सकिन्छ । लोकल खोया बिर्के देखि महङ्गा बिदेशी ब्राण्डका मदिरा त झन अपरीहार्य जस्तै बन्न पुगिसकेको छ र उपलब्धता पनि मज्जाले छ । पर्यटन क्षेत्रमा बिताएका २२ वर्ष मध्ये करीब दुई वर्ष यसै ठमेलको केन्द्रमा बिताउँदाका कैयन तितामिठा दृष्यहरु ऋझ पनि मानसपटलमा रिल झै घुमिरहेका छन् ।
‘स्वीक्रृति त खास १२ बजेसम्म मात्र हो, तर हाम्रो सेटिङ्ग मिलेको छ, रातभरी पनि खोल्न समस्या छैन ।’ प्रत्येक जसो बार, डान्स रेष्टुरेन्ट, पब, डिस्को यसैगरी चलिहरेका छन् । प्रहरीको उपस्थिती उल्लेख्य देख्न पाईन्छ तर कुनै हस्तक्षेप छैन । सायद माथिकै आदेश हो कि ? झै–झगडा बाहेक अन्त हस्तक्षेप गर्दैन । एउटा जुहारी र लुकामारी चाँहि वषौंदेखि देख्न पाईराखिएको छ, त्यो हो कथित तेस्रो लिङ्गीहरु र प्रहरीको । साह्रै रोमाञ्चक दृष्य । लखेटा लखेट मात्र नभई कहिलेकाँहि प्रहरीले भाटे कारवाही पनि गरेको देख्न पाइन्छ । तर फाइनल कहिल्यै भएन । निरन्तर चलिराखेको छ ।
‘झ्यालबाट बाहिर नहेर्नुस् है त्यसरी, सी.आई.डि.हरु घुमिरहेका हुन्छन्, फेरी माथि आउलान्, अनि अप्ठेरो पर्छ, पैसा त खान्छन् नि, तैपनि दुःख दिन्छन् कहिलेकाहिँ मसाज सेन्टरकी साहुनीको आदेश मिश्रित आग्रह पछि म थचक्क बसें र टेबुलमा छरिएका पत्रिका तिर आँखा डुलाउन थाँले । मलाई यहाँ करीब ४५ मिनेट बिताउनु छ, मैले लिएर गएको ६७ वर्षिय ओमानी नागरिक १४ दिनको पदयात्रा पछि आज जीउ मसाज गराउँदैछन् भित्र ।
‘तपाईं पनि मसाज गराउनुस न, ऊ त्यो केटि भर्खर ३ दिन मात्र भयो गाउँबाट आएकी, तपाईं गर्ने भए त्यसैबाट गराई दिउँला, रेट पनि बिदेशीका भन्दा अलि मिलाई दिउँला’ । मसाज साहुनीको छड्के भनाईबाट म अक्क न बक्क भएर सम्हालिदै अस्विकार गरें उनको प्रस्ताव ठाडै । अनि उनले इङ्गित गरेकी १६/१७ वर्षकी ति नानीलाई हेर्दै गम्दैछु, यिनी यहाँ किन आएकी होलिन् ? सायद डोको, नाम्लो, घाँस, दाउरा गोबरको काम गाह्रो भएर ? या आम जवाफ, बाउले कान्छी ल्याए, आमापोइल गइन् या मरिन् ? या कसैको देखा सिकी ? जे जस्तो कारण भएपनि यो दलदलमा त फसिहालिन् । खै त डलरको खेति गर्ने एन.जी.ओ., आई.एन.जी.ओ कता छन् ? सायद तारे होटलको गोष्ठीमै व्यस्त होलान् ।
‘हेलो सर, यू निड अ गर्ल ? नेपाली अर फरेन ? ब्ल्याक अर व्हाइट? अलवी ह्याभ सर ।’ एउटा अलि कलिलो वाणी मेरो कानमा ठोकिन्छ अनि म पछाडी फर्किन्छु । आशा मिश्रित भावमा एउटा १२/१३ वर्षको कलिलो केटो, सीधा भाषामा भन्नु पर्दा ऊ दलाली गर्दैछ कसैको लागि म सँग । उसको जिज्ञासायुक्त अनुहार हेरेर नकारात्मकतामा दायाँबायाँ मुन्टो हल्लाइ दिएँ मुसुक्क हाँसेर । यत्तिकैमा उसको नजर मेरो कोटको बायाँ छातीमा रहेको मैले काम गर्ने ठाउँको लोगोमा पर्छ र ऊ केही बर्बराउँदै हराउँछ भिड तिर । सायद भन्दै गयो होला, ह्या.......... नेपाली पो रैछ त्यो पनि होटलको स्टाफ, बोनी नै खराब भो ।’
सँगसँगै रहेका दोहोरी र पबबाट मिसिएर आएको चल्तिको नेपाली गीत र कोषौं टाढा जमैकाका प्रसिद्ध गायक बब मार्लिको गीतको उच्च ध्वनी बाटोसम्म प्रष्टै छ र बाटैमा अलिकति भिड जम्मा गर्न सफल छ । भित्रबाट बाउन्सरले गलहत्याएका र भित्र छिर्ने ल्याकतन भएका नेपाली र बिदेशी झुम्दैछन् त्यहि आवाजमा बाटोको एउटा कुनामा । त्यहि भिडमा एउटा नरकट जस्तै ज्यानभएको १७/१८ वर्षिय युवक हातमा चप्पल लिएर हुत्तिदै छिर्छ ।
सायद उ कटबासका लठ्ठी धारी प्रहरीहरुसँग एथलेटिक्समा प्रथम भएर त्यहाँ पुगेको छ र दोस्रो, तेस्रो, चौथौ स्थान हासिल गर्न सफल प्रहरीहरु उसलाई पछ्याउदै त्यहिँ पुग्छन् । करिब ४५ सेकेण्डको जुहारी पछि त्यो युवक बक्न थाल्छ, ‘सर म मात्रै होइन, फलानो, ढिस्कानो, तिलानो सबै थिए ।’ सुन्दा र हेर्दा यस्तो लाग्दैछ कि ऊ यो एथलेटिक्सको पूरानो खेलाडी हो । ऊ अभ्यस्त छ यो खेलमा । मरेको सुँगुर जसरी चाकुल झ्याइँ पार्दा र प्रहरीको वाहनमा राख्दासम्म अघिको राम धुलाईले मुखबाट अलिकति रगत आएको देखेर कताकता दया पनि लाग्यो । कमलो मन न हो । कसको छोरो होला, घर कहाँ होला, बिचरा बाउआमाले कति सपना देखेका होलान् यो माथि ? तर सब व्यर्थ ।
व्यापार सबैको चलेकै छ, मारामार छ । नाङलोमा राखिएको चुरोट, पान पराग, चुइगम, पानी, क्यान बियर, इनर्जी ड्रिङ्क, परिवार नियोजनका अस्थायी साधन, खाने चक्की देखि ठेलाको एगरोल, मःम, स्टीक फूड्स अनि महङ्गा सस्ता सबै प्रकारका मदिरा । अनि त्यहि भिडमा हरियो पदार्थ, कालो पदार्थ, सेतो पदार्थ बेच्नेहरु छ्यापछ्याप्ती छन् । अनि फेरी उहि राम्रो ब्यापार छ देहको । कठै ! मेरो देश । सबै ब्यस्त छन् बेच्ने किन्ने र टहलिनेहरु । बाटो बाटोमा मदिरा र देहको व्यापार चलेको देखेर भारतिय पर्यटकहरु दङ्ग छन् र सोच्दै छन्, अर्को जुनी जन्मिन पाए त यहिँ जन्मिने हो ।
रु.५००/१००० देखि एक रातको ४५/५० हजारसम्मका रुमरेट भएका साना ठूला कैयन होटलहरु लाई सिजन या अफ सिजनको कुनै मतलव नै थिएन । एकनासको बातावरण आज नराम्ररी खल्बलिन पुगेको छ ।
‘आई विकेम ह्यर बिफोर २५ यियर्स, याट द्याट टाइम आई ह्याड अ ब्रेकफास्ट एट बन्ली रुपिज थ्री हन्ड्रेड, क्यान यू प्लिज हेल्पमि?’ एउटी करीब करीब ३५/३६ किलो वजनकी स्विटजरल्याण्ड घर बताउने महिला मलाईृ नमस्ते गर्दैछिन् । कालो कफिको कप टेबलमा राख्दै म उनिलाई बिनम्रता पूर्वक सस्तोमा ब्रेकफास्ट खाने ठाउँ देखाई दिन्छु तर अलिकति नमिठो सहित । बिचरीलाई खान देको भए नि हुन्थ्यो कि ? तर हैन, एक त यो होटलमा बसेकी होइनन्, अनि गतिलै देशबाट घुम्न भनेर आएकी हुन् । दोस्रो, यदि यो दयामाया मेरो उच्च व्यवस्थापनले थाहा पायो भने म त फेरी बेरोजगार हुन्छु अनि मैले र मेरा परिवारले के खाने ?
एउटा बोरा जस्तो झोलामा सम्पूर्ण झिटी गुन्टा हालेर, आफ्नो हजुरबुबा पनि सन् ७५ मा यहिँ बसेको अनि म पनि सन् ९३ मा यहिँ बसेको । त्यसैले ‘आई लभ दिसप्लेस’ भन्दै मस्का मार्दै सस्तोमा बास बस्न खोज्ने देखि लिएर स्कटल्याण्डदेखि आफ्नै प्राइभेट जेटमा संसार घुम्दै नेपाल आइ पुगेका उच्चस्तरको पर्यटकसम्मको रोजाईको ठमेल कहिले ढल काण्ड, कहिले तार काण्ड, कहिले हठात् निर्णय लादिएको भेहिकलफ्रि जोन आदि इत्यादि झेल्दै अहिले यो कोरोना महामारीको कारणले नराम्ररी थला परेको छ । प्रत्येक जसो घरका सटरमा ‘खाली छ र पसल बिक्रीमा छ’ भन्ने पर्चा टाँसेको पाइन्छ । राती ८ बजेपछि शुरु हुने अनेक सांस्क्रृतिक चहलपहल अहिले ८ बजेपछि डरलाग्दो मसानघाट जस्तो देखिन्छ ।
साँझ परेपछि शुरु हुने चर्को संगित र गानाबजानाको भिडभाड राती २/३ बजेसम्म चल्थ्यो । त्यसपछिका कैंयन दृष्यहरु नमिठा र मार्मिक पनि छन् । दयनिय पनि छन् । कसका छोरी होलान् ? बाउ आमा कहाँ होलान् ? कसको अँगालोमा छन् ? ति अँगालो हाल्ने र झुलेलाल ज्यान सम्हालिदिने हातहरु यी युवतीहरुका कुन अंगमा पुगेका छन्, यिनीहरुलाई थाहै छैन । शब्द के के बोल्दैछन् ? यिनिहरु आफैलाइृ थाहा छैन । शरीरमा कति कपडा थिए र अब कति बाँकी छन्, त्यो पनि थाहा छैन । छिःछिः, सार्वजनिक शौचालय भन्ठानेर होला बाटोमै हल्का हुँदैछन्, उहि छाडा शब्दहरु सहित । अब एकछिनमा उज्यालो भएपछि यिनिहरु कता अस्ताउँछन्? म केहि भेऊ पाउन सक्तिन ।
‘सलाम सर ! हजुरलाई ३ पटक फोन गरेको तर हजुरले उठाइस्येन । यो गेष्टले अघि २ घण्टादेखि मेरो दिमाग खाएर अनसन बसिराकी छ । यी दुईटा ट्यापेहरुलाई पनि सँगै रुममा लान्छु भन्दैछ । तर मैले भित्र छिर्न दिईन सर ।’ रातीको सुरक्षा अधिकृतको ब्रिफिङ पछि म यसो यि दुई युवकको आकृति तिर ध्यान दिन्छु । निंगालो जस्तो ज्यान, पाखुरा देखि नारीसम्म चित्रकला, चारपाटा मुडेर गाउँ निकाला गरेजस्तो रङ्गी बिरङ्गी कपाल अनि अनुहार भरी छेडेर ठाउँ कुठाउँ लगाएका गहना । सोच्दैछु अर्को ग्रहका प्राणी पो हुन् कि ?
मेरो बुझाई र अनुहारको भाव मेरा सुरक्षा अधिकृतले बुझिसकेछन् र तुरुन्तै एक्सनमा उत्रिइहाले । आँखा झिमिक्क पार्दासम्म ती दुई मानव रुपी आक्रृति गेट बाहिर पारी पट्टी ! करिब करिब पाहा पछारिए जसरी । अब पालो यि हिजो बिहानसम्म भलाद्मी देखिएकी महिलाको । म विनम्रतापूर्वक सम्झाउने प्रयासमा तर उनी मलाई हातको माझीऔंला ठड्याउँदै बर्बराउन थालिन् ‘आइविल सियू टुमरो मर्निङ्ग विथ योर बोस, दिस इज नट फेयर । आइ विल कम्प्लेन एबाउट यु’ फेरी लर्बराउदै लागिन् बाहिर । लौ जय होस् ! मेरा सुरक्षा अधिकृत र म हाँस्यौं सँगै र लाग्यौं आ–आफ्नो काममा । आज यहि ठाउँ, यहि गल्ली, यहि चौबाटो, दोबाटो प्रत्येक पसल, बार, पब, डिस्को सबै यहिँ छन् । छैनन् त केवल ति व्यापारी र ग्राहकहरु । काम विशेषले बाटो पर्दा आजपनि म त्यहिँ फन्का लगाउँदै गुनगुनाउने गर्छु, लैजाउन घुम्न मलाई ठमेल बजार, ट्याक्सी चढाउदै........ ।